काठमाडौँ, पुस १२ गते । अरनिको राजमार्गको विस्ताराधीन सूर्यविनायक–धुलिखेल सडक आयोजना अन्तर्गत साँगा–धुलिखेल खण्डको काम निर्धारित समयभित्र नसकिएपछि एक वर्ष म्याद थपिएको छ ।
कुल लम्बाइ ८.३ किलोमिटर रहेको उक्त खण्डको म्याद २०८३ मङ्सिर २३ गतेसम्म (३६३ दिन) का लागि थप गरिएको सो आयोजनाले जनाएको छ । पहिलो पटक करिब एक वर्ष म्याद थपिएको हो । निर्माण ठेक्का सम्झौता अनुसार साँगा–धुलिखेल सडकखण्डको २०८२ मङ्सिर २६ गतेसम्म विस्तार कार्य सम्पन्न हुनुपर्नेमा अहिलेसम्म ६० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी २०७९ मङ्सिर २७ निर्माण सम्झौता भएको थियो ।
१५.८ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकको दुई खण्डमा विस्तार तथा स्तरोन्नति भइरहेको छ । पहिलो खण्डमा साँगा–धुलिखेल र दोस्रो खण्ड अन्तर्गत सूर्यविनायक–साँगासम्म विस्तार तथा स्तरोन्नति भइरहेको छ । यो राजमार्ग खण्डको विस्तार तथा स्तरोन्नति भएमा अरनिको र बिपी राजमार्ग भएर गरिने यात्रा सहज हुने विश्वास गरिएको छ ।
आयोजना प्रमुख विजयकुमार महतोका अनुसार अहिलेसम्म सो खण्डको धुलिखेल–बाँसबारी क्षेत्रमा एक किलोमिटर र बनेपाको पुलबजार–जनगल क्षेत्रमा एक किलोमिटर गरी अहिलेसम्म मात्र दुई किलोमिटर कालोपत्रे सम्पन्न भएको छ । यस खण्डमा नाला र आरसिसी पर्खाल निर्माणको काम ९० प्रतिशत सम्पन्न हुनुका साथै विभिन्न क्षेत्रमा बेस तथा सबबेस राख्ने काम भइरहेको छ । यस सडक क्षेत्रमा घर जग्गा विवाद र बिजुलीका खम्बा लगायतका युटिलिटीका संरचना हटाउनुपर्ने विषयमा देखिएका विवादका कारण काममा केही ढिलाइ भएको उहाँको भनाइ छ । उहाँका अनुसार अहिले यस खण्डमा एउटा घरको विवाद र ६० वटा बिजुलीको खम्बा हटाउन बाँकी छ । यस खण्ड निर्माणको जिम्मा लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले पाएको हो । कुल चार अर्ब पाँच करोड ६४ लाख रुपियाँ लागतमा यस खण्डको विस्तार भइरहेको छ ।

दोस्रो खण्डको काम अझ सुस्त
पहिलो खण्डको भौतिक प्रगति ६० प्रतिशत भए पनि दोस्रो खण्डको भौतिक प्रगति ४० प्रतिशत मात्र पुगेको आयोजना प्रमुख महतोले जानकारी दिनुभयो । उहाँका अनुसार यस खण्डमा अझै कालोपत्रे सुरु भएको छैन । यस खण्डमा अझै ‘साइट क्लियरेन्स’ को काम सम्पन्न हुन सकेको छैन । अझै १५ वटा घर र १५३ वटा बिजुलीका पोल हटाउन बाँकी छ ।
उहाँले भन्नुभयो, “यस खण्डको काम सुस्त देखिए पनि सडक विस्तार गर्ने क्षेत्रमा कलभर्ट निर्माण, सबबेस राख्ने, वाल लगाउने, माटो भर्ने लगायतका काम धमाधम भइरहेको छ । आरसिसी वाल, प्लम वाल र नाला निर्माणको भौतिक प्रगति ९० प्रतिशत सम्पन्न भएको र अब दुई वटा मात्र कलभर्ट निर्माणको काम बाँकी छ ।” ठेक्का सम्झौता अनुसार आयोजनाको यस खण्डको निर्धारित म्याद यही पुस २३ गतेसम्म छ । यस खण्डका ठेकेदार कम्पनीले एक वर्ष म्याद थप्न प्रस्ताव पेस गरे पनि निर्णय हुन सकेको छैन । तीन अर्ब ८८ करोड ९३ लाख रुपियाँका लागतमा विस्तार तथा स्तरोन्नति भइरहेको यस खण्डको ठेक्का आशिषकुमार श्रेष्ठ÷वन्दना भगवती (संयुक्त)ले पाएको छ ।

पुनः डिजाइन स्वीकृत हुन बाँकी
सूर्यविनायक–धुलिखेल सडक अन्तर्गत निर्माण गरिने पुलको डिजाइन अझै स्वीकृत हुन बाँकी छ । यस आयोजना अन्तर्गत भक्तपुरको जगाती, काभ्रेको महादेव र पुण्यमाता खोलामा पुल निर्माण भइरहेका छन् । जगाती र पुण्यमाता पुल पुनः डिजाइन स्वीकृतको क्रममा रहेका छन् ।
आयोजना प्रमुख महतोका अनुसार महादेव पुलको काम सुरु गरिए पनि जगाती र पुण्यमाताको पहिलाको डिजाइनमा स्थानीयले विरोध गरेपछि पुनः डिजाइन गरी स्वीकृतिका क्रममा रहेका छन् । स्थानीयले जगाती र पुण्यमाता खोलाको पुलको उचाइ घटाउन माग राख्दै निर्माणमा अवरोध गरेपछि ती पुलको पुनः डिजाइन गरिएको हो । उहाँले भन्नुभयो, “सम्झौता अनुसार २०८२ असोज ५ गतेभित्र तीन वटै पुल निर्माण सम्पन्न हुनुपर्नेमा दुई वटा पुलको पुनः डिजाइन गर्नुपर्दा काम ढिलो भएको हो ।”
तीन वटै पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । कुल ५७ करोड ५० लाख रुपियाँको लागतमा तीन वटै पुलको निर्माण ठेक्का हिमदुङ एन्ड थोकर–रामजानकी (संयुक्त) ले पाएको हो । दुई लेनबाट छ लेनका लागि विस्तार कार्य भइरहेको यस राजमार्ग खण्डको दायाँबायाँ सर्भिस लेन तथा २.५ मिटरको सडक पेटी (फुटपाथ) निर्माण हुने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार समग्रमा सूर्यविनायक–धुलिखेल सडक आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ ।
– भउचप्रसाद यादव
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















