12/22/2025, 12:57:53
सोमबार, पुष ०७, २०८२

मनमोहक तनहुँको दुबुङ गाउँ


डुम्रे (तनहुँ), पुस ७ गते । विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित दुबुङ गाउँ फेरिएको छ । पर्यटकीय दृष्टिकोणबाट यस क्षेत्र उपयुक्त मानिन्छ । तर, विकास तथा प्रवद्र्धनको अभावले ओझेलमा परेको क्षेत्र अहिले लयमा फर्किदै छ ।

ऋषिङ गाउँपालिका–३ स्थित दुबुङ क्षेत्र पर्यटकीय, ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्यताको तबरबाट भरिपूर्ण रहेको सेवा निवृत्त प्रधानाध्यापक एवम् स्थानीयवासी हर्कबहादर थापा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गाउँबाट सदरमुकाम दुबुङडाँडा अर्थात दुबुङकोटबाट नजिकै देखिन्छ । तर, त्यहाँ पुग्न हामीलाई धेरै सास्ती खेप्नुपर्ने हुन्थ्यो । अहिले सहज बन्दै गएको छ । विकासोन्मुख अवस्थामा पुगेको छ ।

अझै प्रचारप्रसार गर्न नसकिएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “म शिक्षक थिएँ, विद्यालयको कामकाजले बारम्बार दमौली पुग्नुपर्ने हुन्थ्यो, सवारीसाधन, बाटोले पैदलबाट नै पुग्नुपर्ने थियो, अहिले सङ्घीयताले हामी जस्तो ग्रामीणवासीलाई विकास गर्दै सहजता कायम गरेको छ ।” विकासले गति लिँदै जाँदा यहाँको प्रचारप्रसार भइरहेको उहाँ बताउनुहुन्छ ।

आन्तरिक भ्रमणको प्रचलन बढ्दै गएको छ । ऋषिङ –३ का वडाध्यक्ष भीमबहादुर थापाले प्रवद्र्धनको अभावमा ओझेलमा परेको दुबुङ गाउँ प्रचारप्रसार हुन थालेपछि आन्तरिक पर्यटकको आवागमन हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुबुङबाट जिल्लाका अधिकांश ठाउँको अवलोकन गर्न सकिन्छ । दुबुङकोटबाट जिल्लाको सदरमुकाम दमौली, ऋषिङका विभिन्न भूभाग, देवघाट क्षेत्रलगायत जिल्लाको मात्रै नभइ गोर्खाको मनकामना, गोर्खा बजार, चितवनको इच्छाकामना, नवलपुरको बुलिङटार, कालीगण्डकी करिडोर लगायतका स्थान सहजै देख्न सकिन्छ ।

उहाँले भन्नुभयो, “सङ्घीयता कार्यान्वयनमा आएपछि यी हाम्रो विकट क्षेत्रको रुपमा परिचित दुबुङको विकास हुने थिएन । सङ्घीयताले ग्रामीण क्षेत्रको विकासमा टेवा पु¥याएको छ ।” सडक, विद्युत् आएको विसं २०७५ देखि मात्रै उज्यालो छाएको हो । गाउँलेकै पहलमा सौर्य ऊर्जाबाट धानिएको थियो । यस क्षेत्र विविधता भए पनि विकासको अभावले पछाडि परेको थियो । विकाससँगै यस क्षेत्रको प्रवद्र्धन तथा प्रचारप्रसार बढ्न थालेको छ । यस ठाउँ पर्यटकीय सम्भाव्यताले भरिएको छ ।

दुबुङ प्राकृतिक रुपमा अत्यन्त सुन्दर भएकाले यसको व्यवस्थित प्रचारप्रसारबाट आन्तरिक तथा बाह्य दुवै पर्यटक भित्र्याउन यहाँका स्थानीय लालायित छन् । उहाँले भन्नुभयो, “नमूनाको रुपमा विकास भइरहेको चियाबगान, दृश्यावलोकन स्थलले पछिल्लो समय दुबुङको आकर्षण थप बढाएको छ ।” दुबुङस्थित भालथुम्केमा पछिल्लो समय बृहत् चिया बगान विस्तार गरिएको छ ।

यहाँको आकर्षणको केन्द्र चिया बगान, नेपालका अधिकांश हिमशृङ्खला यहाँबाट अवलोकन गर्न सकिन्छ । सहज सडक बनाउने प्रयासमा रहेको र यहाँ बसोबासका लागि घरबास (होमस्टे) सञ्चालनमा रहेका छन् । बासोबासको व्यवस्थाले पनि हाल पर्यटन गन्तव्यको रुपमा विकास हुँदै गएको वडाध्यक्ष थापाले बताउनुभयो । पहाडको काखमा बसेको यो स्थान केबल प्राकृतिक सुन्दरता मात्रै होइन, पहाडी जीवनशैली, कृषि पर्यटन, दृश्यावलोकन र ऐतिहासिक झल्कोले पनि भरिपूर्ण छ ।

दुबुङको आकर्षक भौगोलिक बनावट, प्राकृतिक सौन्दर्यतासँगै यहाँको महाशीला धार्मिक तवरबाट महत्वपूर्ण रहेको उहाँको भनाइ छ । उहाँका अनुसार यहाँका महत्वपूर्ण स्थालको योजनाबद्ध रुपमा प्रवद्र्धन गर्नसके पर्यटन विकासमा ठूलो फड्को मार्न सकिनेछ । डाँडामा पुग्नका लागि पदमार्ग, वनभोजस्थल दृश्यावलोकनका लागि भ्युटावर गरेर थप आकर्षण बनाइएको छ । ती पदमार्गमार्फत डाँडातर्फ उक्लदाको हिमशृङ्खलाको दृश्यसँगै आफ्ना तस्बिर लिन सकिन्छ ।

बाटो कच्ची भएकाले पर्यटकलाई केही असहज भए पनि, शिखरमा पुगेपछि देखिने दृश्य अत्यन्त मनमोहक लाग्नेछ । दुबुङबाट माछापुच्छ्रे हिमाल, अन्नपूर्ण, धौलागिरि, मनास्लु, गणेशलगायत हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । बिहानीपख विभिन्न डाँडा तथा बादलको घुम्टो ओढेको दृश्यले सबैलाई मोहित बनाउँछ । जिल्लाको दक्षिणी भेग मनमोहक हुँदाहुँदै पनि सम्बन्धित निकायले प्राथमिकतामा नराख्दा ओझेलमा परेको स्थानीयको भनाइ छ । अहिले सङ्घीयता ग्रामीण क्षेत्रको विकासमा पुलको काम गरेको उनीहरु बताउँछन् । पर्यटन पूर्वाधार तथा प्रचारप्रसारमा ध्यान दिनसके दुबुङ तथा मालथुम्के क्षेत्र समग्र तनहुँकै महत्वपूर्ण म्यू–प्वाइन्टका रुपमा स्थापित हुने स्थानीयवासीको विश्वास छ ।

यहाँ बाइसे चौबिसे राज्यका तनुङे, भिरकोटे, दुबुङ्गे राजाको झल्को दिनेगरी ढुङ्गाको राजगद्दी हाल पनि देख्न सकिन्छ । दुबुङकोटबाट जिल्ला सदरमुकाम दमौली, चाइना पुल, ऋषिङ, ग्वास्लुङ, काहुशिवपुर, मानुङ, छिम्केश्वरी, छिपछिपे, छेरङ्गा, मौरीबास, कॉफलडाँडा, भिरकोट, थप्रेकको दृश्य अवलोकन गर्न सकिनेछ । यहाँबाट देवघाट क्षेत्रलगायत जिल्लाको मात्रै नभइ गोर्खाको मनकामना, गोर्खा बजार, चितवनको इच्छाकामना, नवलपुरको बुलिङटार, नागबेली कालीगण्डकी, कालीगण्डकी करिडोर अवलोकन गर्न सकिन्छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..