मुक्तिनाथ (मुस्ताङ), पुस १२ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ स्थित लुम्बुक झरना चिसोले पहाडमै जमेको छ । समुद्री सतहदेखि ४,५०० मिटर अग्लो विशाल चट्टानको पहाडबाट निरन्तर खस्ने झरना मुस्ताङमा चिसो बढेसँगै अहिले जमेको हो ।
फल्याक र धाकार्रजुङ गाउँबिचबाट बग्ने लुम्बुकखोलाको शिरानबाट बग्ने लुम्बुक झरना जमेको दृश्यले मोहित बनाएको पर्यटक प्रकाश पौडेलले बताउनुभयो । पौडेलले भन्नुभयो, “झरना जमेर बरफ भएको छ, अहिले मुस्ताङ घुम्न आउनेहरू यहाँसम्म पुगेर फर्किन्छन् ।” झरनासँगै त्यहाँ रहेको गुरु पद्मसम्भवले ध्यान साधना गरेको गुफासमेत पर्यटकको आर्कषणको केन्द्र रहेको वडाध्यक्ष सुरेन्द्र गुरुङको भनाइ छ । झरनासम्म पुग्न पदमार्गसहितको संरचनाले समेत सहज भएको छ । तल्लो र माथिल्लो मुस्ताङमा चिसो ह्वात्तै बढेपछि सानाखोला, सिँचाइ कुलो, खानेपानीको धारासँगै बाटोमा शित जमेर बरफ भएको छ ।
तल्लो मुस्ताङको थासाङ, घरपझोङ, वाराजुङ मुक्तिक्षेत्रका साथै उपल्लो मुस्ताङको ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अत्यधिक चिसोका कारण पहाडबाट खस्ने झरना जमेर पहाड नै सेताम्मे भएको छ भने खानेपानीको धारासमेत जमेपछि तातोपानीले बरफ फुटालेर खानेपानी प्रयोग गर्ने गरिएको छ ।
मुस्ताङबाट बग्ने कालीगण्डकी नदी, कागखोलासहित पानीको सतह धेरै भएकाबाहेक साना र सहायक खोला, कुलो जमेकोे वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ का वडाध्यक्ष कर्म घ्यचो गुरुङले बताउनुभयो । वडाध्यक्ष गुरूङले भन्नुभयो, “बिहानबेलुकी अत्यधिक जाडो छ, दिउँसो घाम लागेको बेलामा केही सहज छ ।”
.jpg)
कागबेनीदेखि माथिल्लो मुस्ताङ जाने पर्यटकको सङ्ख्यासमेत ह्वात्तै घटेको भए पनि मुक्तिनाथ मन्दिरमा नेपाली र भारतीय धार्मिक तीर्थालु आइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको सञ्चार शाखाले जनाएको छ । पुस १० गते बेनी–जोमसोम सडकखण्डबाट दुइ हजार २१४ जना पर्यटक मुस्ताङ प्रवेश गरेकामा एक हजार ८६४ जना बाहिरिएका थिए भने एक हजार ३५० जनाले मुक्तिनाथ मन्दिरको दर्शन गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले बताउनुभयो ।
उपल्लो मुस्ताङको नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालय तथा नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ क्षेत्रमा बिहान र बेलुकीको समयमा न्यूनतम तापक्रम माइनस डिग्री सेल्सियसमा झरेको छ । अत्यधिक चिसो बढेपछि उपल्लो मुस्ताङका बस्ती सुनसान हुन थालेका छन् । अत्यधिक चिसोका कारण जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको सङ्ख्या पातलिएको छ । मुस्ताङमा मङ्सिरदेखि मध्यफागुन महिनासम्म जनजीवन कष्टकर हुन्छ । मुस्ताङबाट जाडो छल्न बाहिरिएका स्थानीय फागुनको अन्त्य अथवा चैत महिनामा मात्रै जिल्ला फर्किने गरेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












