12/23/2025, 12:56:13
मङ्गलबार, पुष ०८, २०८२

पाहुनाको रोजाइमा बाजुराको ‘छेडेदह ताल’


बाजुरा, पुस ८ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिकाका वडा नं ४ र ७ को बिचमा रहेको छेडेदह ताल यती बेला पाहुनाको रोजाइमा पर्दै गएको छ ।

यसको चारै तिर अग्ला भूभाग र बिचमा समथल रहेको यो ताल हेर्दा जो कोहीको मन लोभिने गरेसँगै पछिल्लो समय यो ताल पाहुनाको रोजाइमा पर्ने थालेको हो । यहाँ हिउँदको महिना तीर्थालुहरु आउने गर्छन् भने बर्खाको समयमा आन्तरिक तथा बाह्य पर्यटकहरु आएर रमाइलो गर्ने गर्छन् ।

त्यति मात्र होइन, यहाँका अधिकांश विद्यालय समूह क्लबहरुको पिकनिकका लागि पनि उपयुक्त स्थलको रुपमा रहेको छ । यहाँ पिकनिकसँगै तालको छेउछाउमा देउडा खेल्ने नाचगान गरेर रमाइलो गर्दै फोटा खिच्ने गरेको होटल व्यवसायी बिमल रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला यो ताल बारेमा खासै कसैलाई चाँसोको विषय जस्तो लाग्दैन थियो । पछिल्लो समय यो तालको छेउमा सडक सुचारु भएसँगै धेरैको आउजाउ हुन थालेपछि अहिले यहाँ बाहिरदेखि समेत पर्यटक आउने गरेका छन् ।

यो ताललाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्दै जाने हो भने यहाँ आउने गरेको आन्तरिक तथा बाह्य पर्यटकबाट नै यहाँका स्थानीयहरुको आर्थिक अवस्था परिवर्तन हुन सक्ने रावतले बताउनुभयो ।

बाजुराको बडिमालिका, कालाजाग्रा, बुढीनन्दा र रानीसैन जस्तै यो ताल पनि एक पर्यटकीय स्थलको रुपमा रहेको छ । तर पनि यसलाई अहिलेसम्म राम्रोसँग व्यवस्थित गर्न सकिएको छैन । यो झण्डै एक हजार भन्दाबढी रोपनी जमिन सम्म फैलिएको छ । यसको चारै तिर अग्लो भुभाग र बीचमा समथल रहेकोले यो तालमा पानी कहिल्यै पनि सुक्दैन । वर्खाको समय आकाशको पानी जम्मा हुने भएकोले ताल ठुलो र हिउँदमा अली सानो हुने गर्छ ।

ताल कति गहिरो छ भन्ने कुरा अँझै पत्ता लागेको छैन् । यसको लम्बाई चौडाई अन्दाजी एक हजार रोपनी सम्म फैलिएको हुन सक्ने सम्भावना भएपनि यसको गहिराई भने एकिन नभएको रावतले बताउनुभयो ।

प्रकृतिको एक उपहारको रुपमा रहेको यो ताल पहिला देखि नै संरक्षणको परखाईमा छ । पछिल्लो समय पालिकाले प्रत्येक वर्षमा थोरै भएपनि रकम लगानी गर्दै आएको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “यो ताल अलि विवादका कारण बाहिर देखि रकम ल्याउन समस्या भएको छ । साबिकका गुदुखाती –९ खाती गाउँ र आटिचौर –१ लम्गाउँ बीचमा रहेको यो ताल स्थानीयले पहिला देखि आ–आफने क्षेत्रमा परेको भन्दै अडान लिन थालेका छन् ।

यहाँका स्थानीयले चाँसो देखाएको छैन् । उनीहरुले यो ताललाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्नु पर्छ भन्ने सोच बनाएपछि यसको विवाद हट्छ । त्यसपछि यो तालको संरक्षण प्रवद्धन गर्ने काम अघि बढ्छ । त्यसपछि यहाँका स्थानीयको आर्थिक अवस्थालाई टेवा पुग्ने यसलाई संरक्षण तथा प्रवर्धन कार्यलाई अघि बढाउने योजना रहेको अध्यक्ष रावतले बताउनुभयो ।

– शेरबहादुर सार्की