12/16/2025, 15:58:36
मङ्गलबार, पुष ०१, २०८२

बाह्रै महिना घुम्न सकिने गन्तव्यका रूपमा विकास हुँदै मनाङ


मनाङ, पुस १ : चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने मनाङमा मङ्सिर महिनामा जाडो र चिसो मौसमका बाबजुद उल्लेख्य सङ्ख्यामा पर्यटकको आगमन भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका संरक्षण कार्यालय मनाङको तथ्याङ्कअनुसार उक्त महिनामा तीन हजार तीन सय ३१ जना पर्यटकले मनाङ भ्रमण गरेका छन् ।

एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलले मङ्सिर महिनामा आगमन भएका पर्यटकमध्ये एक हजार तीन सय ४८ जना महिला, एक हजार नौ सय ८१ जना पुरुष तथा अन्य दुई जना रहेका बताउनुभयो । कुल आगमनमध्ये सार्क राष्ट्रका एक सय ८५ जना र अन्य मुलुकका तीन हजार एक सय ४६ जना पर्यटक रहेका छन् । उहाँले जाडो मौसम सुरु भइसके पनि मनाङप्रतिको पर्यटकको आकर्षणमा कुनै कमी नआएको बताउनुभयो ।

पछिल्ला वर्षहरूमा भौतिक पूर्वाधार तथा सडक सञ्जालको विस्तारले पर्यटकलाई सहज बनाएको छ । बेँसीसहरदेखि मनाङसम्म सडक पहुँच पुगेसँगै हिँडेर यात्रा गर्न नसक्ने वा सीमित समय भएका पर्यटकका लागि समेत मनाङ गन्तव्य बन्दै गएको छ । “अहिले सडक, सञ्चार र स्वास्थ्य सेवामा आएको सुधारले जाडो मौसममा पनि पर्यटक नडराई मनाङ आउन थालेका छन्,” प्रमुख भुजेलले बताउनुभयो ।

उहाँका अनुसार मनाङ अब केवल पदयात्राका लागि मात्र होइन, बाह्रै महिना घुम्न सकिने गन्तव्यका रूपमा विकास हुँदै गएको छ । ताल, हिमाल, गुम्बा, तातोपानी, हिमनदी, हिमाली संस्कृति र जैविक विविधताले भरिपूर्ण मनाङमा घुम्नलायक धेरै पर्यटकीय स्थल रहेका छन् । गंगापूर्ण ताल, तिलिचो ताल, मनाङ गुम्बा, आइस लेक, खाङ्सार तथा पिसाङ क्षेत्र पर्यटकका प्रमुख आकर्षण हुन् ।

त्यस्तै, पछिल्लो समय मनाङमा सुविधा सम्पन्न होटल तथा लजहरूको राम्रो व्यवस्था भएको छ । तातो पानी, न्यानो कोठा, गुणस्तरीय खाना र इन्टरनेट जस्ता सुविधाले विदेशी पर्यटकलाई विशेष आकर्षित गरेको होटल व्यवसायी शेराप विष्टले बताउनुभयो ।

जाडोमा पनि होटलहरू सञ्चालनमा रहँदा स्थानीयको आम्दानीमा समेत सकारात्मक प्रभाव परेको छ । एक्यापले संरक्षण र पर्यटनलाई सँगसँगै अघि बढाउने उद्देश्यका साथ स्थानीय समुदायसँग सहकार्य गर्दै आएको प्रमुख भुजेलले जानकारी दिनुभयो । उहाँले सुरक्षित, दिगो र जिम्मेवार पर्यटन प्रवर्धन गर्न सके मनाङको पर्यटन अझ मजबुत बन्ने बताउनुभयो ।

– यदुप्रसाद भट्ट