काठमाडौँ, पुस १२ गते । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्नुभएको छ ।
छलफलमा सहभागी नेतालाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, ‘यो घर तपाईंहरूकै हो। म त न्याय क्षेत्रको मान्छे। राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाए बमोजिम हामी चुनावको तयारी गरिरहेका छौँ।’
बालुवाटार पुग्नुभएका कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘मेरो निमन्त्रणलाई स्वीकार गरी यहाँहरू आइदिनुभयो, धेरै धन्यवाद र स्वागत छ’, उहाँले भन्नुभयो, ‘मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौँ। सबै यसमा सहभागी हुनुपर्छ। तपाईंहरू निर्वाचनका लागि तयार हुनुहुन्छ भन्ने नै मैले देखेकी छु। त्यस्तो वातावरण बनिरहेको देख्छु। यो स्वागतयोग्य छ।’

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोत-साधन उपलब्ध गराइसकेको जानकारी दिनुहुँदै अब अलमल नगरी राष्ट्रको भविष्य सम्झेर चुनाव सफल पार्नुपर्नेमा जोड दिनुभयो । चुनाव सफल पार्नु सबैको जिम्मेवारी भएको भन्दै उहाँले चुनाव सफल पार्न सहयोग गर्नकै लागि बालुवाटारमा शीर्ष नेतालाई निम्ता दिएको प्रष्ट पर्नुभयो।
‘हामीले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराएका छौँ। भनेजति नै स्रोतसाधनको व्यवस्था गरेका छौँ।सुरक्षाकर्मीको मनोबल बढेको कुरा त यहाँहरुले पनि महसुस गर्नुभएकै होला। हामी त्यसरी काम गरिरहेका छौँ’, प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौँ। यो हामी सबैको जिम्मेवारी हो। यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई आज निम्ता गरेकी हुँ।’

What if you could work from Anywhere?
Explore More with something that can change your Life!












