12/28/2025, 17:10:14
आइतबार, पुष १३, २०८२

कुलमान घिसिङलाई समेट्न बालेन र रास्वपाले मेहनत गर्नुपर्छ : सुमना श्रेष्ठ


काठमाडौँ, पुस १३ : रास्वपा त्यागेर निस्केकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले बालेन र रास्वपाको एकता प्रक्रियामा कुलमान घिसिङलाई पनि समेट्नुपर्ने र त्यो जिम्मेवारी बालेन र रास्वपाकै रहेको बताएकी छन् ।

वैकल्पिक शक्तिहरूबीच एकता हुनुपर्छ भनेर काम गरिरहेकी श्रेष्ठले कुराकानीमा उज्यालो नेपाल पार्टीलाई पनि एकता प्रक्रियामा ल्याउन एकता पक्षधरहरूले मेहनत गर्नुपर्ने बताइन् ।

उनले बालेन र रास्वपाबीच भएको ७ बुँदे समझदारीले संसद पुनःस्थापना गर्न लागिपरेका दलहरूलाई पनि निस्तेज गरेको बताएकी छन् । यो एकताबाट अत्यन्तै खुसी भएको प्रतिक्रिया दिँदै उनले एकतापछि नयाँ शक्तिमा ठूलो जिम्मेवारी आइपरेको बताइन् । उनले जनतामा रहेको वितृष्णालाई सम्बोधन गर्दै अगाडि बढ्नुपर्ने र देशलाई निकास दिन अब खाका कोर्नुपर्ने बताउँदै देशभित्र विद्यमान वितृष्णा रोक्न भूमिका खेल्नुपर्ने बताइन् । उनले यो एकताले समयमै चुनाव गर्न बल पुगेको पनि बताइन् ।

एकता प्रक्रियापछि तपाईंको भूमिका के हुन्छ भनेर सोधिएको प्रश्नमा उनले परिवर्तनका निम्ति आफ्नो भूमिका जहाँ महत्त्वपूर्ण हुन्छ त्यही हुने र एकता प्रक्रियामा आफू सहयोगी बन्ने बताइन् ।

आईतबार झिसमिसे नहुँदै रास्वपा सभापति रवि लामिछाने  र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)बीच एउटै पार्टीमा आवद्ध भएर चुनावमा जानेबारे ७ बुँदे सहमति भएको थियो । यो सहमतीमा रास्वपाको नेतृत्वमा रविलाई स्वीकार गर्दै बालेन अघि बढने र रविले आगामी फागुन २१ मा हुने निर्वाचनपछिको प्रधानमन्त्रीमा बालेनलाई स्वीकार्ने मुख्य बुँदा समेटिएको छ ।