काठमाडौँ, पुस १३ : सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पहिलो उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि नाम सिफारिस भएको छ ।
उपकुलपति तथा रजिष्ट्रार छनोट तथा सिफारिस समितिका संयोजक जयराज अवस्थीका लागि उपकुलपतिका लागि एक जना र रजिष्ट्रारका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सहकुलपति तथा शिक्षामन्त्री महावीर पुनलाई नाम सिफारिस गरिएको उनले बताए ।
‘उपकुलपतिका लागि दुई जनाको मात्र आवेदन परेको थियो । त्यसमध्ये एक जनाको आवेदन प्रक्रिया पूरा नभएकाले स्वीकृत भएन । एक जनाको मात्र नाम पठाएका छौं,’ उनले भने, ‘रजिष्ट्रारमा ३ जनाको नाम सिफारिस गरिएको छ ।’ तीमध्ये एकजना नियुक्त हुनेछन् । विश्वविद्यालयको ऐनअनुसार सभा बैठक डोकेर सिफारिस मध्येबाट नियुक्ति गरिनेछ । समितिले सिफारिसमा परेकाहरुको नाम भने खुलाएको छैन ।

उपकुलपतिका लागि आवेदन नपरेपछि समितिले तेस्रो पटक सूचना जारी गरेर आवेदन माग गरेको थियो । दुई पटकसम्म आवेदन नपरेपछि शिक्षामन्त्री पुनले समेत उपकुलपति बन्न चाहने व्यक्ति सर्म्पक आउन सामाजिक सञ्जालबाट आह्वान गरेका थिए । सिफारिस समितिले उपकुलपतिका लागि कात्तिक १६ गते प्रथम पटक र कात्तिक ३० गते दोस्रो पटक दरखास्त आह्वान गरेको थियो । एउटा पनि दरखास्त नपरेपछि मंसिर २३ गते समितिले मंसिर २८ गतेसम्म दरखास्त पेस गर्न समय थप गरेको थियो ।
रजिष्ट्रारमा १० जनाको आवेदन परेमा सात जनालाई सर्टलिस्ट गरेर अन्तर्वार्तामा डाकिएको थियो । कञ्चनपुरका खेमराज जोशी, बैतडीका गोविन्दसिंह विष्ट, बझाङका डबलबहादुर धामी, कञ्चनपुरका डमरुप्रसाद पनेरु, कैलालीका पदमराज जोशी, बैतडीका भीमबहादुर चन्द र कैलालीका शिवप्रसाद सापकोटा सर्टलिस्टमा परेका थिए । तीमध्ये तीनको नाम सिफारिस भएको हो ।
गत असारमा विश्वविद्यालयको ऐन संसद्बाट पारित भएपछि सरकारले उपकुलपति र रजिस्ट्रार नियुक्तिको प्रक्रिया अघि बढाएको छ । पदाधिकारी नियुक्तिपछि विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशमा चिकित्सा पठनपाठन थाल्ने लक्ष्य राखेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















