काठमाडौँ, पुस १३ गते । नेकपा एमालेका नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहको एकताले खासै अर्थ नराख्ने बताएका छन् ।
कुराकानीका क्रममा नेताहरूले उनीहरूको एकताको ठुलो असर नदेखिने दाबी गरेका हुन् । नेकपा एमालेका नेता मानवीर राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख साहको राजनीतिक मिलन वा विमिलनको कुनै विशेष अर्थ नरहेको बताए ।
उनीहरूको राजनीति नेपाली जनतामा आधारित नदेखिएको भन्दै राईले त्यसले वर्तमान नेपाली राजनीतिक परिवेशमा खासै महत्त्व नपाउने दाबी गरे ।
उनले भने ‘वास्तवमा रवि लामिछाने र बालेन शाहहरू मिल्नु र नमिल्नुको कुनै अर्थ म देख्दिन । किनभने उनीहरूको राजनीति नै नेपाली जनतामा आधारित राजनीति देखिएन । कसैको आशीर्वाद कसैको ईसारामा गरिएको राजनीतिलाई नेपाली जनताले र नेपालको अहिलेको परिवेशले त्यस्तो महत्त्व दिन्छ भन्ने मलाई लाग्दैन र त्यस्तो ठुलो केही अर्थ राख्दैन ।’
नेता राईले २०७९ सालको स्थानीय तह निर्वाचनमा बालेन साह निर्वाचित हुँदा जनतामा ठुलो आशा र अपेक्षा रहेको भएपनि साहका गतिविधिले ती अपेक्षा पूरा गर्न नसकेको आरोप लगाए । काठमाडौँ महानगरपालिकाभित्र भइरहेका अधिकांश सडक तथा पूर्वाधार निर्माण कार्य संघीय सरकारअन्तर्गत सडक विभाग र सडक डिभिजनमार्फत भइरहेको उनको दाबी छ ।
प्रमुख साहको विकास निर्माणका कार्य अगाडी बढाउन नसकेको उनको आरोप छ । विकासका नाममा उनले के गरेका छन् छ ? उनले प्रश्न उठाए । मकै पोलेर जीविकोपार्जन गर्नेहरूलाई लखेट्ने बाहेक अरू काम नगरेको उनको दाबी छ । नेता राईले विभिन्न राजनीतिक कार्यक्रमहरूमा जरिवाना घोषणा गरेर मेयर शाहले ‘स्टन्टबाजी’ मात्रै गरेको आरोप लगाए ।
जेनजी आन्दोलनमा भएको आगजनी तथा हिंसात्मक घटनाका बेला काठमाडौँ महानगरपालिकाले दमकल नपठाएको आरोप लगाउँदै उनले यस घटनाले पनि प्रमुख शाहको विकास र समृद्धिप्रतिको संवेदनशीलता नदिएको उनको दाबी छ ।
उनले भने ‘उहाँको हिजो निर्वाचित हुँदै गर्दा २०७९ को स्थानीय तहको निर्वाचनमा एउटा जनतामा आशा र अपेक्षा थियो । युवा हो, एउटा ठुलो आशा र अपेक्षा थियो । तर त्यसपछिको क्रमशः उहाँको गतिविधिहरू चाहिँ काठमाडौँ र नेपालभरको जनताले देखिराखेको छ । काठमाडौँ महानगरपालिकाको बाटोघाटोको कुरा प्राय सबै सङ्घीय सरकारले सडक विभाग, सडक डिभिजन अन्तर्गत सबै कामहरू बनिरहेको हुन्छ । अब उहाँले गरेको नै पनि के छ र आखिरी विकासमा । एउटा मकै पोलेर खाने, मकै पोलेर आफ्नो र परिवारको जीविकोपार्जन चलाउनेलाई लखेट्ने बाहेक उहाँले अरू के काम गर्नुभएको छ र रु व्यवस्थित रूपमा सडकमा लाइटहरूसम्म राख्न उहाँले सक्नुभएको छैन । त्यत्रो ठुलो उहाँले काम गरेका पनि होइन । पछिल्लो समयमा उहाँले नेकपा एमालेले कार्यक्रम गर्दाखेरि एक लाख जरिवाना उहाँले घोषणा गर्नुभयो, पछि राजावादी आन्दोलनमा पूर्वराजालाई सम्म उहाँले ६/७ लाख रुपैयाँ जरिवाना घोषणा गर्नुभयो । स्टन्टबाजी गर्नुभयो । अहिले यत्रो सिंहदरबार जल्दा, अदालतहरू जलाउँदाखेरि आफूसँग त्यत्रो धेरै भएको दमकलसम्म नदिने, नपठाउने भनेपछि उहाँ त यो देशको विकास होइन, जलोस्, सिद्धियोस्, खरानी होस्, नेपालको ऐतिहासिक सम्पदाहरू, स्थानहरू, अदालतहरू केही पनि नरहोस्, सकोस् । जलेको त हेरिरहेका छन् । ललितपुरको महानगरले दमकल पठाएर ३ दिन पछाडि बल्ल चाहिँ जलाइएको ठाउँहरूमा निभाउने काम गयो । काठमाडौँ महानगरले एउटा पनि दमकल पठाउने आट गरेन, यी घटना परिघटनाले देखाउँछ, उहाँ विकास र समृद्धि, नेपाली जनताको हितमा काम गर्नुहुन्न, हुनुहुन्न ।’
उनले चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमतिलाई हाँस्यास्पद भएको बताए । २०६४ सालमा नेकपा माओवादीले पनि पुष्पकमल दाहाललाई भावी राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको स्मरण गरे । उनले दाहाल राष्ट्रपति बन्नुभयो त रु प्रश्न गरे । उनले बालेन्द्र साह सांसद नै बन्न नसक्ने हो की भन्ने आशंका पनि जनाए ।
उनले रास्वपा सभापति लामिछाने पनि सहकारी ठगी मुद्दामा सबैभन्दा धेरै धरौटी बुझाएर निस्किएको पात्र भएको बताए । उनले जनतको माझमा उनहरूले सफलता हासिल गर्न नसक्ने दाबी गरे ।
नेकपा एमालेका नेता लालबाबु पण्डितले भने राजनीतिक पार्टीहरू मिल्नु राम्रो भएको बताए । नेपालमा राजनीतिक पार्टीहरूको ध्रुवीकरण आवश्यक रहेको उनको भनाई छ । हाल देशमा १५२ भन्दा बढी राजनीतिक पार्टी रहेको उल्लेख गर्दै उनले देशमा पाँच वटा मात्रै पार्टी भए पुग्ने बताए । उनले सीमित संख्याका राजनीतिक दलबीच प्रतिस्पर्धा भई बहुमतको सरकार बन्नसके मात्र राजनीतिक स्थायित्व, विकास र समृद्धि सम्भव हुने बताए ।
एमाले कुनैपनि राजनीतिक गठबन्धनसँग प्रतिस्पर्धा गर्न तयार रहेको उल्लेख गर्दै नेता पण्डितले कोही पार्टी मिल्दैमा कसैले टाउको दुखाउन आवश्यक नरहेको बताए । कोही एक भयो भन्दैमा अर्को समाप्त हुन्छ भन्ने बुझाइ गलत भएको उनको भनाई छ ।
उनले भने ‘अब नेपालमा राजनीतिक पार्टीहरू धुव्रिकृत हुनु राम्रै कुरा हो । अहिले १५२ पार्टीले देश बनाउँछु भनेर हिँडिरहेका छन् । चुनावमा कति पार्टी जान्छन्, टुङ्गो छैन । पार्टी खोल्ने, कहिलेकाहीँ त श्रीमानले एउटा पार्टी खोल्ने, श्रीमतीले एउटा पार्टी खोल्ने । अनि १५ दिन एउटा पार्टीमा बस्ने १५ दिन अर्को पार्टीमा जाने जुन यो प्रवृत्ति छ नि, अस्थिर प्रवृत्ति । यो देशको निम्ति एक किसिमको घात नै हो । लोकतान्त्रिक विधि र प्रक्रियामा त छौँ तर लोकतान्त्रिक विधि र प्रक्रियामा पनि अनुशासन भन्ने चिज चाहिन्छ, नैतिकता भन्ने चिज पनि चाहिन्छ । समर्पण पनि हुनुपर्छ, नभए फाउको खेती भनेर राजनीतिलाई बुझ्ने जुन गरिन्छ नि, त्यो गलत हो । त्यसकारण म के भन्न चाहन्छु भने, अझै धेरै धुव्रिकृत होस् । अझै पाँच वटा औँलाभित्र मात्रै राजनीति पार्टीहरू प्रतिस्पर्धा गरेर रहुन् । बहुमतको सरकार बनाउन । राजनीतिक स्थायित्व होस् । त्यसैले विकास र समृद्धि ल्याउने हो । एकताले देशलाई फाइदा हुन्छ भने कसैले टाउको दुखाउनु आवश्यक हुँदैन । एमालेको टाउको दुखाई छैन । एमाले जति अरू पार्टीहरू मिलेर आउँछन्, त्यो सँग सामना गर्न तयार छ । किनभने राजनीतिक स्थायित्वको पक्षमा छ । संविधानको पक्षमा छ, लोकतन्त्रको पक्षमा छ । कोही एक भयो भन्दैमा अर्को समाप्त भयो भन्ने बुझाई चाहिँ खहरे बुझाई हो क्या ।’
राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र साहबीच आइतबार बिहान ‘वृहत् एकता’ सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । एकताअनुसार शाह निर्वाचनपछि संसदीय दलका नेता बन्नेछन् भने रास्वपा सभापति लामिछाने सभापतिकै रूपमा रहनेछन् । पार्टीको संरचनाको भने सबै रास्वपाको हुनेगरी ७ बुँदे सहमति भएको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









