काठमाडौँ, पुस १३ गते । खपत बढेसँगै पेट्रोलियम पदार्थको आयात बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा एक खर्ब रुपियाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिरसम्म एक खर्ब तीन अर्ब रुपियाँको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन र ग्यास) आयात भएको छ ।
गत वर्ष सो अवधिमा एक खर्ब एक अर्ब रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । जुन समीक्षा अवधिमा दुई अर्ब रुपियाँ बराबरको आयात बढी हो । पाँच महिनामा डिजेल, पेट्रोल, हवाई इन्धन र ग्यासको आयात बढेको तथ्याङ्कले देखाएको छ ।
विभागका अनुसार चालु आवको पाँच महिनामा सबैभन्दा धेरै ४५ अर्ब ६० करोड ६२ लाख ११ हजार रुपियाँ बराबरको चार लाख ८७ हजार ८५६ किलोलिटर डिजेल आयात भएको छ । गत वर्ष सो अवधिमा ४२ अर्ब १७ करोड २८ लाख ६२ हजार रुपियाँ बराबरको चार लाख ७२ हजार ८०७ किलोलिटर डिजेल आयात भएको थियो ।
यस्तै चालु आवमा २७ अर्ब ३३ करोड २१ लाख चार हजार रुपियाँ बराबरको तीन लाख १४ हजार ६६३ किलोलिटर पेट्रोल आयात भएको छ । गत वर्ष सो अवधिमा २६ अर्ब ४५ करोड ४३ लाख ५७ हजार रुपियाँको तीन लाख छ हजार २२९ किलोलिटर पेट्रोल आयात भएको छ ।
चालु आवमा २२ अर्ब ३९ करोड ४६ लाख ६३ हजार रुपियाँको दुई लाख २७ हजार ३४४ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको छ । गत वर्ष सो अवधिमा २४ अर्ब २२ करोड ९१ लाख ६८ हजार रुपियाँ बराबरको दुई लाख १७ हजार ७७४ मेट्रिक टन ग्यास आयात भएको थियो । गत आवको तुलना ग्यासको १० हजार मेट्रिक टन ग्यास बढी आयात भएको हो । ग्यासको मूल्य घटेकाले ग्यासमा बाहिरिने रकम भने कम भएको छ ।
चिसो मौसममा अन्य समयको तुलनामा ग्यासको खपत बढी हुने गर्छ । जसको कारणले गर्दा आयात बढेको हो । यस्तै पाँच महिनामा आठ अर्ब ३४ करोड ८९ लाख ८६ हजार रुपियाँ बराबरको ९० हजार ९११ किलोलिटर हवाई इन्धन आयात भएको छ । गत वर्ष सो अवधिमा आठ अर्ब १४ करोड ५९ लाख ७३ हजार रुपियाँको ८९ हजार ५४५ किलोलिटर हवाई इन्धन आयात भएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















