12/16/2025, 17:47:18
मङ्गलबार, पुष ०१, २०८२

डिजिटल प्रविधिको विकास : हात-हातमा कसरी आइपुग्यो क्यामेरा ?


काठमाडौं, पुस १ : आज हाम्रो हात–हातमा क्यामेरा छ । पारिवारीक जमघट होस् वा सांस्कृतिक कार्यक्रम, कुनै सभा होस् वा घुमफिर । मानिसहरु फोन निकालेर फोटो खिच्न थालिहाल्छन् ।

डिजिटल प्रविधिका कारण यो सबै संभव भएको हो । र, यो प्रविधि प्रयोगमा आएको धेरै भएको छैन । तर, छोटो समयमै यसले फोटोग्राफीको समाजमा प्रभाव तिव्र फैलाएको छ ।

२० औं शताब्दीसम्म क्यामेरामा रिलको प्रयोग गर्नुपर्ने हुन्थ्यों र यस जमानामा थोरै मानिसले मात्र फोटो खिच्ने सामथ्र्य राख्दथें । यसबेला डिजिटल प्रविधि भर्खरै उदाउँदै थियो र मुख्य रुपमा अन्तरिक्ष यात्रीहरुले टेलिमिट्री र इमेजिङका लागि प्रयोग गर्दथें ।

सन् १९६१ मा नासाको जेट प्रोपुल्सिन ल्याबका युजिन एफ लाल्लीले सोचिरहेका थिए, ‘अन्तरिक्षमा मोजाइक फोटोसेन्सर प्रयोग गरेर ग्रह–ताराको फोटा खिच्न र वैज्ञानिकहरुले आफ्नो पोजिशन पत्ता लगाउनसक्ने अवस्था कसरी बनाउने ?

तर दुर्भाग्य डिजिटल फोटोग्राफीको उनको सिद्धान्त त्यसबेला चल्तीमा रहेको प्रविधिभन्दा निकै अगाडि थियो । अर्थात्, उनको सोचलाई साथ दिनसक्ने प्रविधि विकास भइसकेको थिएन । यस्तै सिद्धान्तसहित १० वर्षपछि टेक्सास इन्स्ट्रुमेन्टस्का विलिस एडकक रिलरहित क्यामेराको प्रस्ताव लिएर आए । तर, यो सोच यथार्थमा परिणत हुन थप ५ वर्ष लाग्यो ।

पहिलो डिजिटल क्यामेरा इस्टम्यान कोडाकका इन्जिनियर स्टेफेन साशनले १९७५ मा विकास गरे । उनले मुभी क्यामेरा लेन्सबाट प्रोटोटाइप (युएस पेटेन्ट ४,१३१,९१९) विकास गरेका थिए । यसमा मोटोरोलाका पार्टस्, १६ वटा एए ब्याट्री र केही भर्खरै आविस्कार गरिएका सीसीडी इलेक्ट्रोनिक सेन्सर थिए । यो क्यामेरा झन्डै टोस्टर जत्रो थियो । यसको ओजन ३.६ किलो थियो । यसले डिजिटल क्यासेन टेपमा ब्ल्याक एन्ड ह्वाइट फोटो खिच्न सक्थ्यों ।

साशन र उनका सहकर्मीले यी तस्बिर हेर्नका लागि विशेष स्क्रिन पनि आविस्कार गरेका थिए । तत्कालीन समय कोडाकको प्रोटोटाइपको रिजोलुसन ०.०१ मेगापिक्सेल थियो । यसले एउटा फोटो क्लिक गर्न २३ सेकेन्ड लगाउँथ्यों । यो आविस्कारका बाबजुद कोडाकले डिजिटल क्यामेराको विकासमा खासै ध्यान दिएन । उसलाई रिलवाला क्यामेरा उत्पादनमै भ्याई–नभ्याई थियो ।

१९६९ मा विकास भएको चार्ज्ड कपल डिभाइस (सीसीडी) डिजिटल फोटोग्राफीलाई अघि बढाउन एउटा ठूलो वरदान साबित भयो । सीसीडी एक लाइट सेन्सर हो, जो लेन्स पछाडि हुन्छ र फोटो क्याप्चर गर्छ । अर्थात्, रिलले जे गर्दथ्यों, त्यही काम यसले गर्छ ।  फेयरचाइल्डले १९७० को दशकमा विकास गरेको क्यामेरामा सीसीडी सेन्सर प्रयोग गरिएको थियो ।  १९८० को दशकमा हाते क्यामेराले रिलवाला क्यामेरालाई बिस्थापित गर्न सुरु गरे । १९८१ मा सोनीले प्रोटोटाइप माभिका (म्याग्नेटिक भिडियो क्यामेरा) मोडल सार्वजनिक गर्‍यो ।

माभिका टेलिभिजन क्यामेरा थियो, जसले स्टिल फ्रेमहरु पनि लिन सक्थ्यों । यद्यपि, यो पूर्ण रूपमा डिजिटल क्यामेरा थिएन । यी एनालग इलेक्ट्रोनिक क्यामेराहरूलाई डिजिटल क्यामेराका पूर्वज मान्‍न सकिन्छ । किनकी, यी क्यामेराले तस्बिरहरूलाई इलेक्ट्रोनिक माध्यममा रेकर्ड गर्थे, तर पनि प्राविधिक रूपमा अझै एनालग डाटा नै रेकर्ड गरिरहेका थिए ।

एए ब्याट्रीबाट चल्ने माभिकाले ‘माभिप्याक‘ भनिने दुई इन्चको फ्लपी डिस्कमा तस्बिरहरू भण्डारण गर्थ्यो, जसमा ५० वटा रङ्गीन फोटोहरू अटाउँथे, जसलाई टेलिभिजन वा मोनिटरमा हेर्न सकिन्थ्यो । यसको सीसीडी साइज १०x१२ मिलिमिटरको चिपमा ५७०४९० पिक्सेलको थियो । सेन्सरको लाइट सेन्सिभिटी (प्रकाश संवेदनशीलता) आईएसओ २०० थियो । सटर स्पिड १/६० सेकेन्डमा फिक्स्ड गरिएको थियो ।

क्याननले सन् १९८६ मा बिक्रीका लागि पहिलो एनालग इलेक्ट्रोनिक क्यामेरा, आरसी-७०१ बजारमा ल्यायो । त्यसपछि १९८८ मा आरसी-२५० जाप्सट नामको मोडल आयो ।

जाप्सटलाई युरोपमा ‘आयन’ र जापानमा ‘क्यु-पिक’ भनिन्थ्यो । अमेरिकामा यसको मूल्य ४९९ डलर थियो, तर ब्याट्री, कम्प्युटर इन्टरफेस कार्ड, सफ्टवेयर र फ्लपी डिस्कका लागि उपभोक्ताले थप ९९९ डलर खर्च गर्नुपर्थ्यो । कमजोर गुणस्तरको तस्बिर र अत्याधिक मूल्यका कारण यी क्यामेराहरु आम उपभोक्तामाझ कहिल्यै लोकप्रिय भएनन् । तर, पत्रपत्रिकालाई यसको प्रयोगले धेरै फाइदा भएको थियो ।

परम्परागत क्यामेराले काम गर्दा सुटिङ, रिल डेभलप, प्रिन्ट निकाल्ने, स्क्यान गर्ने र पठाउने प्रक्रियामा घण्टौं वा पूरा दिन लाग्नसक्थ्यो । तर, यी क्यामेराबाट काम गर्दा तस्बिरलाई इलेक्ट्रोनिक सिग्नलमा कन्भर्ट गरेर टेलिफोन लाइन, रेडियो ट्रान्समिटर वा स्टयाटेलाइट लिंकमार्फत केही मिनेटभित्र समाचार कक्षमा पठाउन सकिन्थ्यो ।

पत्रपत्रिकालाई धेरै रिजोसुशन वा गुणस्तरभन्दा पनि समयमै फोटो आउन जरूरी हुने भएकाले यस क्यामेराको राम्रो प्रयोग भएको थियो । विशेषगरी १९८४ को ओलम्पिक, १९८९ को तियानमेन स्क्वायर प्रदर्शन र १९९१ को खाडी युद्धका घटना खिच्‍न यी क्यामेरा प्रयोग गरिएको थियो ।

वास्तविक डिजिटलको आगमन

सन् १९८१ मा क्यानडाको युनिभर्सिटी अफ क्यालगरी एएसआई साइन्स टिमले ‘फेयरचाइल्ड अल-स्काई क्यामेरा‘ बनाएको थियो । यस क्यामेराले १००x१०० पिक्सेलको फेयरचाइल्ड सीसीडीहरू प्रयोग गरेको थियो । यो पहिले क्यामेरा थियो,जसले डिजिटल डाटामा फोटो रेकर्ड गर्यो ।

त्यही कारण, यसलाई पहिलो वास्तविक डिजिटल क्यामेरा पनि भनिन्छ । अक्टुबर १९२१ मा सोनी कम्पनीले विश्वको प पहिलो कम्प्याक्ट डिस्क प्लेयर, सोनी सीडीपी-१०१, यो सीडी प्लेयर धेरै लोकप्रिय भयो । यसको सफलताले नवप्रवर्तन र डिजिटल प्रविधिमा लगानीका लागि व्यवसायी तथा ठूला कम्पनीहरुलाई झक्झक्याउने काम गर्‍यो ।

सन् १९८३ मा क्यानन कम्पनीले आफ्ना क्यामेराको डिजाइनको परिकल्पना गर्न लुइगी कोलानीलाई नियुक्त गर्यो । उनले “ब्रह्माण्डमा कुनै सीधा रेखाहरू हुँदैनन्” भन्ने आफ्नो दर्शन प्रयोग गर्दै नवीन एलसीडी भ्युफाइन्डर भएको एसएलआर डिजाइन ‘हाइ-प्रो’ , लेडी नाम दिइएको सिकारुहरूका लागि क्यामेरा, पावर पावर जुम र बिल्ट-इन फ्ल्यास भएको ‘सुपर सी बायो’ र पानीमुनि चल्ने ‘फ्रग’ डिजाइन तयार गरे ।

उनले होमिक (होरिजेन्टल मेमोरीचिप इन्टिग्रल स्टोरोबो क्यामेरा) पनि डिजाइन गरे । होमिकलाई १९८४ को फोटोकिना प्रदर्शनीमा राखिएको थियो तर यसलाई कहिल्यै बिक्रीमा लगिएन ।

डिजिटल क्यामेरा बजारमा

पहिलो वास्तविक हाते (ह्यान्डहेल्ड) डिजिटल क्यामेरा १९८८ को फुजी डीएस-१पी हुनुपर्ने थियो । यसले तोशिवासँग मिलेर विकास गरेको १६ एमबीको एस-र्याम इन्टरनल मेमोरी कार्डले कम्प्युटर फाइलका रूपमा तस्बिरहरू रेकर्ड गर्थ्यो, तर डीएस-१ पी कहिल्यै पसलहरुमा बिक्रीका लागि राखिएन ।

अमेरिकामा बिक्री भएको पहिलो डिजिटल क्यामेरा १९९० को डाइक्याम मोडल १ थियो । ‘लजिटेक फोटोम्यान‘ समेत भनिनने यस क्यामेराले सीसीडी इमेज सेन्सर प्रयोग गर्थ्यो, तस्बिरहरू डिजिटल रूपमा भण्डारण गर्थ्यो र सीधै कम्प्युटरमा जोडर तस्विर डाउनलोड गर्न मिल्थ्यो ।

डिजिटल विकास

सन् १९८८ मा क्रमश: डिजिटल इमेज र अडियो फाइलका लागि जेपेग र एमपेग मापदण्ड सिर्जना गरियो । १९८८ मा म्याकिन्टोस कम्प्युटरका लागि ‘डिजिटल डार्करुम‘ तस्बिर सम्पादन गर्ने पहिलो प्रोग्राम बन्यो र १९९० मा एडोब फोटोसप १.० आयो ।

सन् १९९२ मा ‘मोजाइक’ सार्वजनिक भयो, जो मानिसहरूलाई वेबमा तस्बिरहरू हेर्न दिने पहिलो वेब ब्राउजर थियो । सोही वर्ष कोडाक डीसीएस २०० पनि बिल्ट-इन हार्ड ड्राइभका साथ देखा पर्यो । यसको रिजोलुसन १.५४ मेगा पिक्सेल थियो, जुन स्टिल-भिडियो क्यामेराको रिजोलुसनभन्दा झण्डै चार गुणा बढी थियो ।

एप्पलको प्रवेश: द क्विकटेक

सन् १९९४ मा लन्च भएको ‘एप्पल क्विकटेक १००‘ एक हजार डलरभन्दा कम मूल्यमा उपलब्ध पहिलो रङ्गीन डिजिटल क्यामेरा थियो । यसमा ६४०x४८० पिक्सेलको सीसीडी थियो र यसको इन्टरनल मेमोरीमा ६४०x४८० साइजका आठ वटासम्म तस्बिर अटाउन सक्थ्यो । यसमा एप्पलको लोगो भए पनि वास्तवमा यो कोडाकले निर्माण गरेको थियो । यसपछिको ‘क्विकटेक २००‘ भने फुजी फिल्मले बनाएको थियो ।

इप्सन ले १९९४ मा पहिलो “फोटो क्वालिटी” डेस्कटप इन्कजेट प्रिन्टर बजारमा ल्यायो । सोही वर्षको अन्त्यतिर, ओलम्पस डेल्टिस भीसी-११०० तस्बिर पठाउन सक्ने पहिलो डिजिटल क्यामेरा बन्यो । यसलाई मोडेममा जोड्नुपर्थ्यो, तर यसले फोन लाइनमार्फत (सेलफोनबाट समेत) तस्बिर पठाउन सक्थ्यो । एउटा तस्बिर पठाउन करिब छ मिनेट लाग्थ्यो । तस्बिरको रिजोलुसन ७६८x५७६ पिक्सेल थियो, सटर स्पिड १/८ देखि १/१००० सेकेन्डको बीचमा सेट गर्न सकिन्थ्यो र यसमा रङ्गीन एलसीडी भ्युफाइन्डर समावेश थियो ।

स्मार्टमिडिया कार्ड र कम्प्याक्ट फ्ल्यास मेमोरी कार्डहरू पनि १९९४ मै आए । कम्प्याक्ट फ्ल्यास प्रयोग गर्ने पहिलो क्यामेरा १९९६ को ‘कोडाक डीसी-२५’ थियो । सन् १९९५ मा ‘क्यासियो क्युभी-१०’ ले एलसीडी स्क्रिनसहितको क्यामेरा ल्यायो । उक्त स्क्रिन ४६ मिलिमिटर (१.८ इन्च) को थियो । क्युभी-१० मा घुम्ने लेन्स पनि थियो । तस्बिरहरू १/५ इन्चको ४६०x२८० पिक्सेलको सीसीडीद्वारा खिचिन्थ्यो र सेमिकन्डक्टर मेमोरीमा भण्डारण हुन्थ्यो, जसमा ९६ वटा रङ्गीन स्टिल तस्बिरहरू अटाउँथे । क्लोज-अप म्याक्रो सुटिङ, अटो एक्सपोजर र सेल्फ टाइमर जस्ता अहिले परिचित फिचरहरू यसमा थिए । यसको मूल्य १००० डलर थियो ।

सन् १९९५ मा लजिटेकले भिडियोम्यान सार्वजनिक गर्यो, जुन पर्सनल कम्प्युटरमा जोड्न मिल्ने पहिलो वेबक्याम थियो ।

डिजिटल युगको आगमन

१९९५ मा आएको ‘रिको आरडीसी-१‘ भिडियो र आवाज पनि रेकर्ड गर्ने पहिलो डिजिटल स्टिल क्यामेरा थियो । यसको मूल्य सुरुवातमा १५०० डलरको हाराहारीमा थियो । यसमा ६४ मिलिमिटर (२.५ इन्च) को रङ्गीन एलसीडी स्क्रिन थियो र f/2.8 एपर्चरमा ३x अप्टिकल जुम थियो । यी फिचरहरू वर्षौंसम्म कम्प्याक्ट क्यामेराका आधारभूत विशेषता रहे, तर समयसँगै मूल्य भने घट्दै गयो ।

सन् १९९६ मा ‘क्यानन पावरसट ६००‘ आयो । यसमा १/३ इन्चको ८३२x६०८ पिक्सेलको सीसीडी, बिल्ट-इन फ्ल्यास, अटो ह्वाइट ब्यालेन्स र अप्टिकल भ्युफाइन्डरका साथै एलसीडी डिस्प्ले थियो । यसमा हार्ड डिस्क ड्राइभमा तस्बिर राख्न र १७६ एमबीसम्म स्टोरेज गर्न मिल्ने सुविधा थियो ।

सन् १९९७ मा पेन्टाक्स ईआई सी ९० बजारमा आयो । यो निकै हल्का थियो थियो । त्यस्तै बडीलाई एलसीडीबाट अलग गर्न सकिने सुविधा यसमा थियो । प्रविधि यसरी नै विकास हुँदै गयो ।  २०१० को दशकसम्म आइपुग्दा, एउटा कम्प्याक्ट क्यामेराको आकार स्टिभ सासनको १९७० को प्रोटोटाइपले एउटा धमिलो तस्बिर सेभ गर्न प्रयोग गर्ने क्यासेट टेप जत्रै हुन पुग्यो ।

प्रोफेसनल शैलीका एसएलआर क्यामेराहरू पनि डिजिटल प्रविधिमा रुपान्तरण भए । डीएसएलआर क्यामेराहरूले आफ्ना पुराना रिलवाला क्यामेराका लेन्सहरू साट्न मिल्ने सुविधा दिए । त्यस्तै, उच्च क्षमताको डिजिटल मेमोरी र एलसिडी स्क्रिनको फाइदा पनि थपे । रिलको जमानाको यान्त्रिक विरासत बोकेका परम्परागत डीएसएलआर डिजाइन अहिले बिस्तारै सोनी, क्यानन, निकोन, ओलम्पस तथा पानासोनिकको साना मिररलेस क्यामेराहरूद्वारा स्थापित हुँदैछन् ।

क्यामेरा फोन

ठूलो डिजिटल क्रान्ति नि:सन्देह ‘क्यामेरा फोन‘ नै थियो । १९९९ मा ‘क्योसेरा भिजुअल फोन भीपी-२१०’ र २००० मा ‘सामसङ एससीएच-भी२००‘ पहिलो क्यामेरा फोनहरू थिए । त्यसको केही महिनापछि आएको ‘शार्प इलेक्ट्रोनिक्स जे-एसएच०४ जे-फोन‘ कम्प्युटरमा जोड्नु नपर्ने पहिलो फोन थियो ।  यसले तस्बिरहरू सिधै पठाउन सक्थ्यो, जसले यसलाई जापान र कोरियामा निकै लोकप्रिय बनायो । २००३ सम्म आइपुग्दा क्यामेरा फोनको बिक्रीले डिजिटल क्यामेरालाई उछिन्यो ।

सन् २००७ मा एप्पलले आईफोन लन्च गरेपछि स्मार्टफोन युगले नयाँ रफ्तार समात्यो । फोनमा जडित क्यामेराहरूमा तीव्र सुधार आयो । फोनको मेमोरी ठूलो भयो जसले धेरै तस्बिर खिच्न सकिने भयो । सीसीडी सेन्सरहरू कम पावर खपत गर्ने सिमोस चिप्सद्वारा प्रतिस्थापित भए ।

३जी, ४जी र ५जीले तस्बिरहरू तुरुन्तै सेयर गर्न सम्भव हुन थाले । फ्लिकरजस्ता फोटोग्राफी साइटहरूको सट्टा फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरू तस्बिर सेयर गर्ने थलो बने । यसले धेरै मानिसलाई फोटोग्राफर बनायो ।

सन् २०१२ मा नोकियाले ४१-मेगापिक्सेलको स्मार्टफोन ‘नोकिया ८०८ प्युरभ्यु‘ बनायो । आजका दिनसम्म आइपुग्दा आईफोनबाटै फिचर फिल्महरू सुट गरिएका छन् । हल्का उपभोक्तामैत्री ड्रोनहरूले डिजिटल फोटोग्राफीलाई आकाशसम्म पुर्‍याएका छन् । आजका प्राय: उत्कृष्ट क्यामेरा फोनहरूमा दुई, तीन वा चार वटा क्यामेराहरू हुन्छन् ।

र, पछिल्लो चर्चाको विषय “पिक्सेल बाइनिङ” हो, जुन सामसुङ ग्यालेक्सी एस २१ अल्ट्रा ५ जी को विशाल १०८-मेगापिक्सेल क्यामेराको सन्दर्भमा प्रयोग गरिन्छ ।  खुसीको कुरा, फोटोको दुनियाँ निरन्तर बदलिरहेको छ । र यस्तो दिन पनि आउनेछ, जब आजका क्यामेरा फोनहरू पुराना अवशेष जस्तै लाग्नेछन् ।

– एजेन्सी