12/15/2025, 17:59:30
सोमबार, मङि्सर २९, २०८२

एआईका कारण महँगा भए कम्प्युटर उपकरणहरू

आज एउटा रेट भए पनि भोलि अर्को रेट भइसक्छ, मान्छेले अघिल्लो दिन मगाएको सामान भोलिपल्ट त्यो रेटमा दिन नसकिने अवस्था सिर्जना भएको छ । यसले गर्दा पहिले नै मध्यमस्तरको डिमान्ड रहेकामा अहिले मूल्यवृद्धिका कारण माग घटेर न्यून भइरहेको छ ।


काठमाडौँ, मङ्सिर २९ : कम्प्युटर, स्मार्टफोन, डिजिटल क्यामरा, राउटर, स्मार्ट टीभी, प्रिन्टरलगायत आधुनिक विद्युतीय उपकरणमा प्रयोग हुने र्‍याम (र्‍यान्डम एक्सेस मेमोरी) चिपको शुल्क निरन्तर बढिरहेको छ । यसले गर्दा डिभाइसको पनि मूल्य बढेको छ भने विश्वभरका ग्राहक मर्कामा परेका छन् । नेपालमा पनि डेढ महिनायता ग्याजेटहरूको मूल्य झन्डै तेब्बर पुगेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्सको उच्च मागसँगै उत्पादन र आपूर्ति घटेकाले र्‍याम र एसएसडी (स्टोरेज) को मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अहिले विश्वभर ठूला टेक कम्पनीले च्याटजीपीटी, जेमिनाई जस्ता एआई प्रणाली चलाउन ठूल्ठूला डेटा सेन्टर बनाइरहेका छन् । यी एआई सर्भरलाई ठूलो मात्रामा ‘एचबीएम’ नामक उच्च क्षमताको र्‍याम आवश्यक पर्छ । एआई चलाउन ग्राफिक्स कार्ड वा जीपीयू चाहिन्छ, जीपीयूले जटिल हिसाब–किताब छिटो गर्न मद्दत गर्छ ।

जीपीयू चल्न हाई एचबीएम चाहिन्छ । माइक्रोसफ्ट, गुगल, अमेजन लगायतले आफ्ना एआई सर्भरका लागि यिनै एचबीएम र्‍याम ठूलो मात्रामा किनिरहेका छन् । यसले गर्दा बजारमा ल्यापटप, स्मार्टफोन वा साधारण कम्प्युटरमा प्रयोग गरिने सामान्य ‘डिर्‍याम’ कम उपलब्ध हुन थालेका छन्, जसकारण र्‍यामको समग्र भाउ अकासिएको छ ।

डिर्‍याम निर्माण गर्ने तीन मुख्य कम्पनी– सामसङ, माइक्रोन र एसके हाइनिक्सले स्मार्टफोन वा ल्यापटपमा प्रयोग हुने सामान्य र्‍यामको सट्टा एआई सर्भरमा प्रयोग हुने एचबीएम र अन्य उच्च क्षमताका चिप उत्पादनमा जोड दिइरहेका छन् । यसबाट उनीहरूलाई बढी मुनाफा हुने भएकाले सामान्य र्‍यामको उत्पादनमा तिनको चासो घटेको छ । यसले गर्दा आपूर्ति घट्ने तर माग उस्तै रहँदा, कन्जुमर–ग्रेड र्‍याम, एसएसडी र डिजिटल डिभाइसकै मूल्य भने ह्वात्तै बढेको हो ।

नेपालमा भने सबै विद्युतीय उपकरण विदेशबाट आयात गरिने र डलर भाउ बढेकाले आयातको लागत बढेर डिभाइसको बजार मूल्य पनि बढेको छ । चालु आर्थिक वर्षको कात्तिकसम्म नेपालमा ३ अर्ब १९ करोड ७४ लाख ६४ हजार रुपैयाँमा ४७ हजार ४६ वटा ल्यापटप र नोटबुक आयात गरिएको भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांक छ ।

चीन, भियतनाम, मलेसिया, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्सलगायत देशबाट यी डिभाइस आयात गरिएको छ । कात्तिकसम्म २३ करोड ७० लाख रुपैयाँ बराबरका ८ हजार ६ सय ६७ वटा ट्याब्लेट, १६ करोड ९० लाख रुपैयाँ बराबरका ५ हजार २ सय डेटा प्रोसेसिङ मेसिन, २४ करोड ९४ लाख रुपैयाँ बराबरका ३१७ वटा सर्भर, १५ करोड ६६ लाख बराबरका ५० हजार १ सय ५९ वटा इन्टर्नल हार्डवेयरलगायत आयात गरिएको छ ।

र्‍याम चिपको अभावले नेपालमा कम्प्युटर उपकरणको मूल्य बढेर झन्डै तेब्बर पुगेको कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) का निवर्तमान अध्यक्ष रञ्जित पोदार बताउँछन् । नेपालमा प्रोसेसर, र्‍याम र एसएसडी जस्ता कम्प्युटर उपकरणमा प्रयोग हुने चिप्सको विश्वव्यापी अभाव र मूल्यवृद्धिले ठूलो असर पारेको छ । ‘मेमोरी कार्डको मूल्य दोब्बर वा तेब्बरसम्म पुगेको अवस्था छ,’ उनले भने, ‘यो समस्या विगत डेढ महिनायता देखिन थालेको हो ।

चिप्स बनाउने कम्पनीहरूले उत्पादन गरिरहेका चिप्स अहिले आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीहरूले ठूलो मात्रामा किनिरहनु मूल्यवृद्धिको मुख्य कारण रहेको पोदारको भनाइ छ । पहिले बजारमा आउने सामान अहिले १०–१५ वटा ठूला प्रविधि कम्पनीमा जान थालेपछि समस्या उत्पन्न भएको हो ।

१६ जीबी वा ३२ जीबीजस्ता ठूला मेमोरी कार्ड लिँदा मूल्यमा दोब्बर–तेब्बर फरक आएको छ,’ उनले भने, ‘प्रोसेसरहरूको मूल्य पनि ५ हजारदेखि १० हजार रुपैयाँसम्म वृद्धि भएको छ । हिजो ३० हजार रुपैयाँमा पाइने प्रोसेसर अहिले ४०/४५ हजार वा ५० हजार रुपैयाँसम्म पुगेको छ ।’ ब्रान्डेड डेस्कटप ५ हजारदेखि ७ हजार रुपैयाँसम्म महँगो भएको उनले जनाए ।

अमेरिकी डलरको उतारचढावले पनि मूल्यमा असर गर्ने भए पनि अहिले चिप्स र एआईका कारण भएको मूल्यवृद्धि डलरको सामान्य उतारचढावले हुनेभन्दा धेरै फरक रहेको पोदारले प्रस्ट्याए । ‘आज एउटा रेट भए पनि भोलि अर्को रेट भइसक्छ,’ उनले भने, ‘मान्छेले अघिल्लो दिन मगाएको सामान भोलिपल्ट त्यो रेटमा दिन नसकिने अवस्था सिर्जना भएको छ । यसले गर्दा पहिले नै मध्यमस्तरको डिमान्ड रहेकामा अहिले मूल्यवृद्धिका कारण माग घटेर न्यून भइरहेको छ ।

मूल्यवृद्धिको सबैभन्दा ठूलो मार भने टेन्डर भरेर सरकारी कार्यालय वा अन्य निकायमा सामान आपूर्ति गर्ने व्यापारीहरूलाई परेको पोदारले जनाए । डेढ वा दुई महिनाअघि टेन्डर भर्दा ५ प्रतिशत वा १० प्रतिशत नाफा राखेर मूल्य तोकेको भए पनि अहिले सामानको मूल्य २० प्रतिशतदेखि ३० प्रतिशत बढिसकेको छ ।

मूल्यमा भएको यो ठूलो वृद्धिका कारण, टेन्डर परिसकेपछि व्यापारीहरूलाई पुरानो, कम मूल्यमा सामान दिन गाह्रो भएको छ । ‘अहिलेको अवस्था यस्तो छ कि व्यापारीहरूले दुई महिनाअघि भरेको टेन्डर बरु मलाई नपरोस् भन्ने चाहना राख्न थालेका छन्,’ उनले भने, ‘टेन्डर परेपछि व्यापारीले तोकिएको मूल्यमा सामान दिन सकेन भने ऊ ब्ल्याकलिस्टेड हुने अवस्था आउँछ । ब्ल्याकलिस्टेड हुनुभन्दा बरु टेन्डर नपर्दा राहत हुने अवस्था छ ।

– सजना बराल