12/23/2025, 16:08:16
मङ्गलबार, पुष ०८, २०८२

प्रविधिको विकास र बढ्दो सुविधासँगै अनलाइन ठगीको घटना बढ्दै


लमजुङ, पुस ८ गते । प्रविधिको विकास र बढ्दो सुविधासँगै लमजुङमा अनलाइन माध्यमबाट हुने ठगीको घटना बढेको छ । पछिल्लो समय अनलाइन माध्यममार्फत ठगिएको भन्दै उजुरी आउने क्रम बढ्दै गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार जिल्लामा गत आर्थिक वर्ष यता मात्रै अनलाइन ठगीसम्बन्धी ३६ वटा उजुरी परेको छ । प्रहरीका अनुसार गत आर्थिक वर्षमा २७ वटा र चालू आर्थिक वर्षको तीन महिने अवधिमा अनलाइन माध्यममार्फत ठगिएको भन्दै नौ जनाको उजुरी परेको छ ।

प्रहरीका अनुसार पीडितले सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको भन्दै ठगिएको, सामान पार्सलमा ठगीमा परेको, मोबाइल खरिद बिक्रीमा ठगिएको, फेसबुक–ह्वाट्सएप, भाइबर, इमेल आइडी ह्याक गरी ठगीमा परेको, ई–सेवा, ओटीपी कोडबाट ठगीमा परेको तथा अन्य माध्यममार्फत ठगीमा परेको भन्दै प्रहरीमा उजुरी गरेको हो ।

अनलाइन माध्यमको बढ्दो प्रयोगसँगै सुरक्षा सतर्कतामा ध्यान कम हुँदा ठगीका घटना आउन थालेको लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयो । अनलाइन माध्यमबाट हुने सेवा सुविधाको उपयोग बढी र सतर्कता कम हुँदा सामाजिक सञ्जालको प्रयोगमार्फत पनि ठगीका घटना हुने गरेको प्रनाउ बोहराले बताउनुभयो ।

जिल्लामा बौद्धिक वर्गदेखि सर्वसाधारणसम्म अनलाइनबाट धेरै व्यक्ति ठगीमा पर्दै गएका छन् । अनलाइन ठगीमा बैंक तथा सम्बन्धित व्यक्तिको आइडीको ओटीपी कोड आवश्यक पर्ने भन्दै माग्ने तथा सो कोड प्राप्त गरेपछि बैंक तथा डिजिटल वालेट आफैं सञ्चालन गरी पीडितको खाताबाट रकम झिक्ने तथा अन्य व्यक्तिसँग रकम माग गर्ने गरेका छन् ।

पछिल्लो समय बैंक कारोबारमा हुने अनलाइन प्रविधिको प्रयोगबाट समेत बैंक खातामा भएको रकम सम्बन्धित खातावालाले जानकारी नै नपाई अर्काले झिक्ने गरेको उजुरी प्रहरीमा पर्न थालेको छ ।

यसैगरी, ई–सेवा, खल्ती, आईएमई जस्ता मोबाइल वालेटमा प्रयोग गरिएका मोबाइल नम्बर ठगी गर्ने व्यक्तिले प्रयोग गरेर त्यस्ता वालेटबाट बैंक खातामा रहेको रकम अन्य खातामा पठाउने गरेको पाइएको छ । प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, भाइबरमा चिठ्ठा परेको भनी भ्वाइस कल गरी पीडितलाई फोटो, नागरिकता, फोन नम्बर, बैंक खाता पठाउन लगाई ठगी गर्ने समूहले नक्कली डकुमेन्ट बनाएर ठगी गर्ने गरेका छन् ।

– नवीनराज कुइँकेल