12/15/2025, 19:23:02
सोमबार, मङि्सर २९, २०८२

एआई र डिजिटल प्रविधिले अपाङ्गता भएका व्यक्तिलाई सशक्त बनाउँदै


शेन्जेन, मङ्सिर २९ : चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीको लागि अभूतपूर्व सहयोग पुर्याइरहेको छ ।

यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडी ३४ टिमबाट सहभागी छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो पहिलो पटक हो कि यी दुई प्रतियोगिता गुआङ्ग्डोङ-हङकङ-माकाओ ग्रेटर बे क्षेत्रका तीनै क्षेत्रमा संयुक्तरूपमा आयोजना भएका हुन् ।

आयोजक समितिका अनुसार, प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण विशेषता प्रविधिको व्यापक प्रयोग हो । विभिन्न स्थलमा इन्टरनेट अफ थिङ्स, कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल ट्विन्स जस्ता अत्याधुनिक प्रविधिको प्रयोग गरी पहुँच योग्य र सहयोगी वातावरण निर्माण गरिएको छ ।

बेइजिङका स्वयंसेवक गोङ्ग वेईले एक वर्षदेखि दूरसञ्चारमार्फत साङ्केतिक भाषामा अनुवाद प्रदान गर्दै आएका छन् । प्रतियोगिता सुरु भएयता यस सेवामा माग उल्लेखनीय रूपमा बढेको छ । वी च्याटमार्फत प्रयोगकर्ता केही सेकेन्डमै स्वयंसेवकसँग भिडियो कल गर्न सक्छन्, जसले भौगोलिक दूरी मात्र होइन, मनोवैज्ञानिक दूरी पनि घटाउने काम गर्छ ।

कार्यक्रमका विकासकर्ता शि चेङ्गचुआन, जो आफै सुनाइमा अपाङ्गता भएका व्यक्ति हुन्, ले साङ्केतिक भाषा अनुवाद सफ्टवेयर र उपकरण विकास गरेका छन्, जुन सरकारी कार्यालय, अस्पताल र विद्यालयमा पनि प्रयोग भइरहेका छन् । गुआङ्ग्जौका खेलकुद अधिकारी झेङ चिहाओका अनुसार, विभिन्न स्थलमा स्मार्ट र बाधारहित मोड्युल जडान गरिएको छ ।

blog

यसमा आपतकालीन सहायता बटन, पहुँच योग्य प्रश्न प्लेटफर्म, स्मार्ट सेवा स्तम्भ र अनलाइन साङ्केतिक भाषा अनुवाद यन्त्र समावेश छन्, जसले स्थलको केन्द्रीय नियन्त्रण प्रणालीसँग जडान भएर प्रयोग कर्ताको सुरक्षा र सुविधा सुनिश्चित गरेको छ ।

मुख्य मिडिया सेन्टरमा आयोजना गरिएको प्रविधि प्रदर्शनीमा एआई-समर्थित पहुँचयोग्य प्रणाली, रोबोट र उन्नत व्हीलचेयर प्रदर्शन गरिएको थियो, जसले दर्शकको ठूलो चासो आकर्षित गरेको थियो । निर्माता ल्यु यी’आनका अनुसार, यी उपकरणले उन्नत सन्तुलन नियन्त्रण एल्गोरिदम र भरपर्दो यान्त्रिक संरचनाका माध्यमबाट विभिन्न सतहमा स्थिरता र सुरक्षा सुनिश्चित गर्छन् ।

नयाँ परिचय गराइएको इलेक्ट्रोनिक डार्टबोर्डले व्हीलचेयर प्रयोग कर्ताको सुविधा सुनिश्चित गर्न स्वतः उचाइ समायोजनको सुविधा दिएको छ । सानक्सी प्रान्तको अपाङ्गता डार्ट टोलीका प्रशिक्षक लुओ बाओगाङले भन्नुभयो, “डार्टबोर्डको स्वतः उचाइ समायोजनले यसलाई पारम्परिक मोडेलभन्दा धेरै सुरक्षित र भरपर्दो बनाएको छ, जसले खेलाडीलाई बढी सहजता प्रदान गर्छ ।

प्रतिस्पर्धा स्थल बाहेक, गाइड डग रोबोटले दृष्टिहीन खेलाडीलाई सहयोग गर्दै छन् भने डिजिटल ट्विन प्रविधिले स्थल सञ्चालनको वास्तविक समय निगरानी सम्भव बनाएको छ । यी आधुनिक उपकरणले प्रयोगशालाबाट वास्तविक संसारमा प्रविधि लागू गर्ने अवसर पाएका छन् ।

आयोजन समितिका उपमहासचिव चेन् स्युजुनले अनुसार यी खेलकुदले अपाङ्गता सेवालाई सामाजिक विकाससँग सम्पूर्णरूपमा एकीकृत गर्ने अवसर प्रदान गरेका छन् । उहाँका अनुसार, “हामी उच्च गुणस्तर र दीगो प्रगतिका लागि निरन्तर प्रयासरत छौँ, ताकि अपाङ्गता भएका व्यक्तिले उज्जवल भविष्यको आशा गर्न सकून् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..