12/15/2025, 19:43:11
सोमबार, मङि्सर २९, २०८२

२३ सय क्यामरामार्फत भोलिदेखि यसरी हुँदै छ बाघ गणना


काठमाडौँ, मङ्सिर २९ : बाघ जति सुन्दर छ, त्यति नै दुर्लभ । शक्तिशाली भए पनि अनुशासित मानिने पाटेबाघको पाँचौं राष्ट्रिय गणना पुस १ देखि सुरु हुँदै छ ।

देख्दा मनमोहक र आकर्षक बाघको संख्या यकिन गर्न यसपटक मुलुकभर व्यवस्थित वैज्ञानिक विधिबाट गणना गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कोरिडोरलाई तीन ब्लक बनाएर गणनाको योजना बनाइएको छ । यी ब्लकभित्र राष्ट्रिय निकुञ्ज, कोरिडोर तथा आसपासका मध्यवर्ती संरक्षित क्षेत्र पर्छन् । करिब ८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रमा २ हजार १ सयदेखि २ हजार २ सयसम्म ग्रिड बनाएर स्वचालित क्यामरा ट्रयाप जडान गरिनेछ । नेपालमा हरेक चार वर्षमा बाघ गणना हुँदै आएको छ ।

चितवन–पर्सा ब्लक

चितवन–पर्सा ब्लकमा पुस १ र २ मा क्यामरा जडान गरी गणना सुरु गरिने वरिष्ठ इकोलोजिस्ट तथा राष्ट्रिय बाघ गणना प्राविधिक समिति संयोजक हरिभद्र आचार्यले बताए । दुई बाई दुई वर्ग किलोमिटरको एउटा ग्रिड बनाई दुवैतर्फबाट एक–एक जोडी क्यामरा जडान गरिनेछ ।

ब्लक ठूलो भएकाले यसलाई तीन खण्डमा विभाजन गरेर क्रमशः क्यामरा सार्दै गणना गरिनेछ । यहाँ ८ सयदेखि ९ सयसम्म ग्रिड छन् । २ सय ५० देखि ३ सय ग्रिडको एउटा खण्ड बनाउन करिब ५ सयभन्दा बढी क्यामरा आवश्यक पर्ने आचार्यले बताए । क्यामराको अभावका कारण एउटा खण्डको काम सकेपछि मात्र अर्को खण्डमा गणना थालिनेछ । यस ब्लकको गणना सकिन मात्र दुई महिनाभन्दा बढी समय लाग्ने अनुमान छ ।

बाँके–बर्दिया ब्लक

बाँके–बर्दिया ब्लकलाई पाँच खण्डमा विभाजन गरिएको छ । बर्दिया र बाँकेमा दुई–दुई तथा दाङमा एक खण्ड बनाइएको छ । दुई बाई दुई वर्ग किलोमिटरका करिब ८ सय ग्रिडलाई पाँच खण्डमा बाँडी बर्दिया खण्डबाट गणना सुरु गरिने राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले बताए ।

यस ब्लकका लागि करिब ५ सय स्वचालित क्यामरा आवश्यक पर्नेमा हालसम्म ३ सयभन्दा बढी क्यामरा आइसकेका छन् । बर्दियामा पुस ५ बाट गणना थालिनेछ ।

शुक्लाफाँटा–लालझाडी ब्लक

शुक्लाफाँटा–लालझाडी कोरिडोरलाई एउटै ब्लक बनाएर गणना गरिनेछ । यहाँ २६० ग्रिड छन् । चितवन–पर्सा ब्लकको गणना सकिएपछि क्यामरा खाली भएपछि शुक्लाफाँटामा काम सुरु गरिने विभागले जनाएको छ ।

एक स्थानमा १५ रात क्यामरा राखिन्छ । क्यामरा जडान र फिर्ता गर्न करिब एक साता लाग्ने भएकाले एउटा ब्लकको गणना पूरा गर्न कम्तीमा २२ दिन लाग्ने बताइएको छ । एकैपटक सबै क्षेत्रमा गणना गर्दा जनशक्ति र क्यामराको आवश्यकता धेरै हुने भएकाले साना खण्ड बनाएर चरणबद्ध रूपमा गणना गरिएको हो ।

सन् २०२२ मा १ हजार ८ सय ४३ क्यामरा प्रयोग गरिएकामा यसपटक २ हजार ३ सय क्यामरा प्रयोग गरिने एनटीएनसीका सदस्य सचिव डा. नरेश सुवेदीले बताए । पुसदेखि सुरु हुने गणना चैतसम्म चल्नेछ । यही अवधिमा महाकालीदेखि कोशीसम्म बाघको अकुपेन्सी सर्भे पनि गरिनेछ । बाघ देखिएको वा पुगेको क्षेत्रमा दिसा, पिसाब, पाइला र चिह्न पछ्याउँदै सर्भे गरिन्छ ।

२५० जनशक्ति परिचालन

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ र जेडएसएल लगातयका निकायको सहयोगमा गणना हुनेछ । मुलुकभर करिब २ सय ५० जना दक्ष जनशक्ति गणनामा खटिनेछन् । आवश्यकता अनुसार नागरिक वैज्ञानिक, स्थानीय बासिन्दा, विद्यार्थी तथा डिभिजन वन कार्यालयका कर्मचारीलाई पनि सहभागी गराइनेछ ।

वनछेउ सुरक्षित स्थानमा टेन्ट राखेर बस्दै क्यामराको अवस्था अनुगमन, मेमोरी कार्ड संकलन र प्रतिवेदन गर्ने व्यवस्था मिलाइएको छ । क्यामराले मिति, समय र स्थानसहितको फोटो खिच्ने भएकाले तथ्यांक विश्लेषण सहज हुन्छ । रातमा अटोमेटिक रुपमा फ्ल्यास बलेर फोटो खिच्छ ।

बाटो, नदी–खोला किनार, दोबाटो, फायरलाइन, भञ्ज्याङ, गोरेटो, नुन र पानीका स्रोत नजिक क्यामरा राखिनेछ । यस्ता स्थानबाट बाघको आवतजावत बढी हुने भएकाले फोटो क्याप्चरको सम्भावना उच्च हुन्छ ।  बाटोदेखि ४/५ मिटर दायाबाया र भुइँदेखि ४५ देखि ६० सेमि माथि रुख वा लौरो गाडेर राखिने गरिएको छ । क्यामराको सेन्सरले हावा र तापक्रममा हुने परिवर्तनसँग स्वचालित रुपमा फोटो खिच्न थाल्छ ।

बाघ गणनासँगै मृग, बँदेललगायत आहारा प्रजातिको संख्या पनि अनुगमन गरिनेछ । यसलाई ‘लाइन ट्रान्जेक्ट’ विधि भनिन्छ । प्रति किलोमिटरमा आहारा प्रजातिको संख्या गणना गरी घनत्व पत्ता लगाइने एनटीएनसी बर्दियाका प्रमुख तुम्बाहाम्फेले बताए । साथै वन क्षेत्र आसपासको मानव गतिविधि बुझ्न ‘प्याच अकुपेन्सी सर्भे’ पनि गरिनेछ ।

बाघको संख्या मात्रै होइन, बासस्थान र आहारा प्रजातिको अवस्था थाहा पाउन यो गणना उपयोगी हुन्छ,’ तुम्बाहाम्फेले भने, ‘यसकै आधारमा निकुञ्ज व्यवस्थापन र पर्यटन विकासको योजना बनाउन सहयोग पुग्छ ।

कसरी छुट्याइन्छ ?

सामान्य रुपमा हेर्दा सबै बाघ एउटैजस्तो देखिन्छ । तर, बाघ एकापसमा फरक हुन्छन् । बाघ पाइने मुलुकका लागि यो प्राणी प्रतिष्ठाको प्रतीक पनि हो ।

पहिला बाघको पाइताला र अन्य संकेतलाई विश्लेषण गरेर बाघको संख्या अनुमान गरिन्थ्यो । सन् २००९ देखि स्वचालित क्यामरा राखेर बाघको संख्या यकिन गर्न लागिएको हो । बाघ पाइने क्षेत्रमा बाघ बढी ओहोरदोहोर गर्ने बाटोमा स्वचालित क्यामरा राख्ने गरिन्छ । बाघ वा अन्य जे सुकै पनि त्यसबाट पार भए क्यामराले आफै फोटो खिच्ने गर्छ ।

बाघको शरीरमा हुने पाटा हरेकको फरक हुन्छ । यसको पहेलो जिउमा काला पाटा धर्सो–धर्सो परेका हुन्छन् । काला पाटा ढाडबाट पेटतिर, पेटबाट ढाडतिर पोतिएको देखिन्छ । अनुहारमा पनि काला धर्साधर्सी विभिन्न बान्कीमा सजिएका हुन्छन् । प्रत्येक बाघमा यस्ता धर्सा भिन्नभिन्न प्रकारले पोतिएका हुन्छन् । मान्छेका औंलाका (अंगुठा) छाप जस्तै यी धर्सा बाघ पहिचान गर्ने प्रमुख माध्यम बन्छन् ।

करिब तीन महिना संकलित तस्बिरलाई सफ्टवेयरमार्फत ‘एससीसीआर’ विधिबाट विश्लेषण गरिनेछ । त्रुटि नहोस् भनी विज्ञ टोलीले पुनः परीक्षण गरेपछि नतिजा सार्वजनिक गरिने वरिष्ठ इकोलोजिस्ट आचार्यले बताए । सबै प्रक्रिया सफल भए २०२६ जुलाई २९ मा पर्ने विश्व बाघ दिवसका दिन नतिजा सार्वजनिक गर्ने लक्ष्य छ ।

किन महत्वपूर्ण छ बाघ ?

बाघ जंगलको ठूलो सिकारी भएकाले यसको संरक्षणले समग्र पारिस्थितिक प्रणाली सुदृढ हुन्छ । ‘विकासका काम गर्दा बाघको घर विनाश गर्छौं । जंगल मासेर सडक र बस्ती बनाउछौं अनि भन्छौ बाघ बस्ती पस्न थल्यो,’  एनटीएनसी बर्दियाका प्रमुख तुम्बाहाम्फेले भने,  ‘बाघ बस्ती पसेको होइन, बस्ती जंगल पसेको हो । बाघबाट हुने फाइदा अर्बौंमा छ । हामी सय/हजारको क्षति गनेर बस्छौं । बाघ मांसाहारी हो तर, हिंस्रक होईन । बाघलाई कुनै खतरा छ भने मान्छेबाटै छ ।‘  मानव–बाघ सहअस्तित्व कायम राख्दै बाघ जोगाउनु आजको आवश्यकता रहेको उनले बताए ।

बाघ वाइल्डलाइफ पर्यटनको ठूलो धरोहर भएकाले यसलाई बचाइराख्न्नुपर्ने डब्लूडब्लूएफ नेपालका प्रतिनिधि डा. घन गुरुङ बताउँछन् । ‘बर्दियामा बाघकै कारण ६ वर्षअघिसम्म ३५ हजार कठ्ठामा नबिक्ने जग्गा अहिले ३५ लाखमा पनि नपाउने अवस्था छ । यसले पर्यापर्यटनको विकास भई होटल व्यवसाय फस्टाएको, रोजगारीको अवसर सिर्जना भएको र समग्र मुलुकलाई फाइदा पुगेको छ,’ उनले भने ।

बाघ जंगलको राजा भएकाले सबै हेर्न लालायित हुने बाघ विशेषज्ञ डा. बाबुराम लामिछाने बताउँछन् । ‘त्यही भएर कति बाघ छन् भन्नका लागि व्यवस्थित गणना गर्नुपरेको हो,’  उनले भने,  ‘जुन वनमा बाघ सुरक्षित हुन्छ त्यहाँको प्राकृतिक पारिस्थितिक प्रणाली स्वतः दुरुस्त हुन्छ । एउटा बाघको संरक्षण गर्ने भनिए पनि त्यहाँ अनेक पक्षको संरक्षण हुने उनी बताउँछन् ।

सन् २००९ देखि वैज्ञानिक रुपमा गणना थाल्दा देशैभर १२१ बाघ थिए । त्यसपछि सन् २०१३ मा १९८, सन् २०१८ मा २३५ र सन् २०२२ मा ३५५ बाघ गणना गरिएको थियो ।  बाघ सबैभन्दा धेरै चितवन निकुञ्ज र आसपासका वन क्षेत्रमा छन् । सन् २०२२ को गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाटामा ३६ वटा बाघ रहेको सार्वजनिक भएको थियो ।

सय वर्षयता विश्वमै ९३ प्रतिशत बाघको बासस्थान र ९७ प्रतिशत संख्या घटेका बेला नेपालमा पाटेबाघको संख्या १२ वर्षमा झन्डै तेब्बर हुनु संरक्षणका क्षेत्रमा राम्रो काम भएको बाघ विशेषज्ञ डा. हेमसागर बरालको भनाइ छ । ‘यो मुलुकका लागि अन्तर्राष्ट्रिय पहिचान बढाउन र खुसीको क्षण भए पनि कहिलेकाहीँ हुने मानव-बाघ द्वन्द्वले मानिसको ज्यान लिनेसम्मका घटनाले चिन्ता थपिएको छ,’  उनले भने,  ‘त्यसैले बाघ र मानिस एक आपसमा मिलेर बस्न सक्छन् भन्ने देखाउन सकियो भने त्यो विश्वकै लागि अझ उदाहरणीय हुन्छ ।

– मनोज पौडेल