पश्चिम नवलपरासी, मङ्सिर २९ : नेपाली कांग्रेसको आसन्न महाधिवेशनको प्रभाव स्वरूप पश्चिम नवलपरासीको राजनीतिमा ध्रुवीकरण तीव्र भएको छ । जिल्लाका पुराना नेताहरूबिच समीकरण परिवर्तन भएपछि जिल्लाको राजनीतिक सरगर्मी तातेको हो ।
जिल्लाका पुराना नेताहरूबिच समीकरण परिवर्तन भएपछि अन्य नेताहरूले पनि आ–आफ्नो समूह बनाउन थालेका छन् । यसै क्रममा, आसन्न महाधिवेशनलाई लक्षित गर्दै आइतबार बर्दघाटमा आयोजित पत्रकार सम्मेलनमार्फत गगन थापा समर्थक टिमको औपचारिक घोषणा गरिएको छ ।
गगन पक्षधर समूहमा को–को ?
घोषित समूहको नेतृत्वमा कांग्रेस लुम्बिनी प्रदेश सदस्य एवम् प्रदेश सभा सदस्य विश्वप्रेम पाठक, जिल्लाका पुराना नेता एवम् महासमिति सदस्य लालबहादुर गुरुङ, कांग्रेस जिल्ला सचिव एवम् प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठ, कांग्रेस क्षेत्र नम्बर १ का सभापति मुकुल आचार्य, महिला संघ केन्द्रीय सदस्य कमला पराजुली र तरुणदल सभापति सुकबहादुर गुरुङ लगायतका नेताहरू रहनुभएको छ ।

मुलुकको नेतृत्व गगनले गर्नुपर्छः समर्थक
पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले मुलुकको परिवर्तनका लागि कांग्रेसमा गगन थापाको विकल्प नरहेको बताउनुभयो । उहाँले गगन थापाको विचार र सिद्धान्तमा आफूहरू समाहित भएको र आगामी महाधिवेशनबाट थापा नै पार्टी सभापति बन्नुपर्ने जिकिर गर्नुभयो ।
यसैगरी, जिल्ला सचिव उमेशचन्द्र यादवले जिल्लामा बनेको नयाँ समीकरण लामो समय नटिक्ने दाबी गर्दै अब पार्टीको मात्रै नभई देशको नेतृत्व पनि गगन थापाले गर्नुपर्ने उद्देश्य अनुरूप अघि बढेको बताउनुभयो ।
बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले नयाँ समीकरण गगन थापालाई नेतृत्वमा पुर्याउनका लागि बनेको उल्लेख गर्दै सबै नेतृत्वलाई यसै समूहमा समाहित हुन आग्रह गर्नुभयो । गगन समर्थक यो समूहले वडा तहदेखि केन्द्रसम्मै आफ्नो टिम बनाएर अघि बढ्ने जानकारी दिएको छ ।
– पुरुषोत्तम सुबेदी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











