12/08/2025, 00:43:36
आइतबार, मङि्सर २१, २०८२

कपीराइट उल्लंघनको आरोपमा परप्लेक्सिटी एआईविरुद्ध ‘द शिकागो ट्रिब्युन’ को मुद्दा


काठमाडौँ, मङ्सिर १९ : अमेरिकी पत्रिका ‘द शिकागो ट्रिब्युन‘ ले क्यालिफोर्नियामा आधारित एआई ‘परप्लेक्सिटी’ विरुद्ध कपीराइट उल्लंघनको आरोप लगाउँदै मुद्दा दायर गरेको छ ।

परप्लेक्सिटीले ट्रिब्युनको सामग्री अनुमतिबिना प्रयोग गरी आफ्नो एआई सञ्चालित सर्च इन्जिनबाट आर्थिक लाभ लिएको आरोपमा बिहीबार ‘द शिकागो ट्रिब्युन‘ले मुद्दा दर्ता गरेको हो । परप्लेक्सिटीले अनुमतिबिना ट्रिब्युनको सामग्री प्रयोग गरेको दाबी गर्दै कानुनी प्रक्रिया अघि बढाएको उल्लेख छ ।

ट्रिब्युन पक्षका अधिवक्ताहरूले गत अक्टोबरमा परप्लेक्सिटीलाई पत्राचार गर्दै यसको मोडेलमा आफ्ना सामग्री प्रयोग भएको/नभएको बारे सोधपुछ गरेका थिए । परप्लेक्सिटी पक्षका अधिवक्ताले भने एआई ट्रेनिङमा ट्रिब्युनको कन्टेन्ट प्रयोग नगरेको जवाफ फर्काए । तर ट्रिब्युनले अदालतमा दाबी गरेअनुसार परप्लेक्सिटीले आफ्नो सामग्री जस्ताको तस्तै प्रयोगकर्ताहरूलाई उपलब्ध गराइरहेको छ ।

त्यस्तै परप्लेक्सिटीको ‘रिट्रिभल अगेमेन्टेड जेनेरेसन (राग)’ माथि पनि प्रश्न उठाएको छ । राग भनेको एआईमा त्रुटि (हल्युसिनेसन) घटाउन प्रयोग हुने प्रविधि हो ।

परप्लेक्सिटीका जेनएआई उत्पादनहरूले शिकागो ट्रिब्युनका सामग्रीलाई जस्ताको तस्तै देखाउँछन्,’ उजुरीमा भनिएको छ, ‘हामीलाई विश्वास छ, परप्लेक्सिटीले हाम्रा लाखौं कपीराइट सुरक्षित समाचार, भिडियो, तस्बिर र अन्य सामग्री अनधिकृत रूपमा कपी गरेको छ ।

परप्लेक्सिटीले ट्रिब्युनका लेखहरू अनुमतिबिना ‘स्क्र्याब’ (तानेर) गरेर प्रयोग गरिरहेको दाबी ट्रिब्युनले अदालतमा गरेको छ । परप्लेक्सिटीले आफ्ना सामग्रीको पेवाल बाइपास गरेर विस्तृत सारांश उपलब्ध गराइरहेको आरोप पनि ट्रिब्युनले लगाएको छ ।

यसबारे परप्लेक्सिटीले कुनै प्रतिक्रिया जनाएको छैन । यसअघि, मिडियान्युज ग्रुप र ट्रिब्युन पब्लिसिङ अन्तर्गतका ‍१७ प्रकाशनहरूले गत अप्रिलमा ‘ओपन एआई’ र ‘माइक्रोसफ्ट’ विरुद्ध मोडेल ट्रेनिङका लागि सामग्री प्रयोग गरेको आशंकामा सामूहिक मुद्दा दायर गरेका थिए ।