12/15/2025, 17:51:10
सोमबार, मङि्सर २९, २०८२

जङ्गली हात्ती गाउँ पसेर उपद्रो मच्चाउँदा…


गाईघाट (उदयपुर), मङ्सिर २९ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर उपद्रो मच्चाएको छ । दैनिक रातिका समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्क्याएका खाद्यन्न तथा बालीमा नास गर्न थालेका स्थानीयवासीले गुनासो गरेका छन् ।

स्थानीयवासी श्यामनारायण चौधरीका अनुसार गत शनिबार रातिमात्र स्थानीय अमृत अधिकारीको घरका बार भत्काएर अन्न क्षति गरेको थियो । यसैगरी, स्थानीय पर्शुराम हुजदारले आफ्नो घरको भकारीमा राखेको धान हात्तीले क्षति गरेको जानकारी दिनुभयो । मध्यरातमा हात्ती प्रवेश गरेर घर वरिपरि बिरुवा खाने र भकारी भत्काएर धान खान थालेको उहाँले बताउनुभयो ।

हात्ती रातिका समयमा गाउँमा प्रवेश गर्न थालेपछि कतिपय गाउँले रातभरि आगो बालेर हात्ती धपाउन जाग्राम नै बस्नुपरेको स्थानीयवासी सीताराम चौधरीले बताउनुभयो । चिसो बढेसँगै हात्ती गाउँ प्रवेश गरेर बिगार तथा उपद्रो गर्न थालेको स्थानीय बताउँछन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..