12/15/2025, 19:51:14
सोमबार, मङि्सर २९, २०८२

पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार : राष्ट्रपति जेलेन्स्की


किएभ, मङ्सिर २९ : युक्रेनले पश्चिमा सहयोगीबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारसँगको प्रमुख बैठक अघि व्यक्त गर्नु भएको छ ।

वर्षौदेखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमणविरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य अमेरिका, युरोपेली देश र अन्य सहयोगीबाट कानुनी रूपमा बाध्यकारी सुरक्षा ग्यारेन्टी स्वीकार गर्न सक्ने उहाँले बताउनु भएको छ ।

पछिल्लो समयमा युक्रेन र अमेरिकाबिचको द्विपक्षीय सुरक्षा ग्यारेन्टी, र युरोपेली सहकर्मी, साथै अन्य देश-क्यानडा, जापानबाट सुरक्षा ग्यारेन्टी अर्को रूसी आक्रमण रोक्ने अवसर भएको बताउँदै जेलेन्स्कीले त्यस्ता आश्वासन कानुनीरूपमा बाध्यकारी हुनु पर्ने बताउनु भएको छ ।

राष्ट्रपति जेलेन्स्कीले आफू “मर्यादापूर्ण” शान्ति र रूसको अर्को आक्रमण नगर्ने दृढ ग्यारेन्टी खोजिरहेको बताउदै मस्कोले युक्रेनी सहर र महत्वपूर्ण पूर्वाधारमा निरन्तर आक्रमण गरी द्वन्द्व लामो बनाएको बताउनु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बढ्दो दबाबका कारण कूटनीतिक प्रयास तीव्र भएपछि यो टिप्पणी आएको हो ।

ट्रम्पका दूत स्टिभ विटकोफ र जारेड कुसनर युक्रेनी र युरोपेली प्रतिनिधिसँगको वार्ताका लागि आइतबार बर्लिन पुगेका थिए । अल जजिराका अनुसार यस अघि किएभ र मस्को दुवैसँग वार्तामा संलग्न रहेका विटकोफलाई पठाउने निर्णयलाई वासिङ्टनले प्रगतिमुलक हुने विश्वास गरेको जनाइएको छ ।

युक्रेनले अमेरिका र युरोपेली साझेदारसँग मिलेर २०-बुदे योजनाको समीक्षा गरिरहेको उल्लेख गर्दै जेलेन्स्कीले यसले युद्धविराम हुन सक्ने बताउनु भएको छ । अधिकारीले जारी कूटनीतिक छलफलका बावजुद रूसले आक्रमण नरोकि जानाजानी जाडो महिनामा नागरिकलाई तातो र पानीबाट वञ्चित गर्न पावर ग्रिडलाई लक्षित गरि हजारौंलाई बिजुली विहीन बनाएको बताएका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..