काठमाडौँ, पुस १३ गते । कथाकार सुलोचनाको ‘एक जोर आँखा’ सार्वजनिक भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा पारिवारिक र प्रेम सम्बन्धका रिल र टिकटक बनाएर चर्चामा रहनुभएकी सुलोचनाको कथासङ्ग्रह आइतबार सार्वजनिक भएको हो ।
शिल्पी थिएटरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा कथाकार भागिरथी श्रेष्ठ, कथाकार सुलोचनासँगै उहाँका दिदी पद्मा र सुर्दशनाले एकसाथ पुस्तक सार्वजनिक गर्नुभएको हो । कथाकार सुलोचनाले आफ्नो पुस्तक ‘एक जोर आँखा’ भूइँ मान्छेले देखेको तर अझै साकार हुन बाँकी रहेको मीठो सपना भएको बताउनुभयो । पुस्तक विमोचनपछि कथाकार सुलोचनासँग कवि उज्ज्वला महर्जनले संवाद गर्नुभयो । १६ वटा कथा समेटिएको ‘एकजोर आँखा’ पुस्तक न्युरोड बुक स्टोर, काठमाडौँले प्रकाशनमा ल्याएको हो ।

कार्यक्रममा कथाकार भागिरथी श्रेष्ठले सुलोचनाको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पार्नुभयो । कविता, कथा, नियात्रा, निबन्ध र गीतमा समेत सुलोचनाको कलम चलेको भन्दै श्रेष्ठले सुलोचनाको लेखन शैलीको प्रशंसा गर्नुभयो । उहाँले सुलोचना साहित्यकार मात्र नभएर कुशल गृहिणी, राजनीतिकर्मी, समाजसेवी भएको बताउनुभयो । श्रेष्ठले कथाकार सुलाेचनाको पारिवारिक सम्बन्ध र भात भान्साको कुरासमेत सार्वजनिक भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुलोचनाकी छोरी आभाले आमाको प्रेरणाबाट आफूले पनि लेख्ने गरेको बताउनुभयो । पुस्तक विमोचन समारोहमा कवि शार्दुल भट्टराई, अविनाश श्रेष्ठ, सुदर्शन श्रेष्ठ, वसन्त श्रेष्ठ, उज्ज्वला महर्जन, घिमिरे युवराज तथा पुस्तक प्रकाशक राजेश गजुरेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!











