हेटौँडा, असोज १ : साहित्यकार छवि अनित्यको चौथो कृतिस्वरूप ‘बाल महाभारत’ पुस्तक सार्वजनिक भएको छ । ‘गोकु’, ‘नारुतो’ जस्ता एनिमे पात्रमा आकर्षित हुँदै गएका वर्तमान पुस्तालाई पूर्वीय साहित्यको महान् ग्रन्थ महाभारतका पौराणिक पात्रसँग परिचित गराउने उद्देश्यले यो पुस्तक तयार गरिएको हो ।
पुस्तक विशेष गरी कक्षा ६ माथिका बालबालिकालाई लक्षित गरी लेखिएको छ । सरल र आकर्षक भाषाशैलीमा तयार गरिएको यस कृतिमा महाभारतका १८ वटै पर्वका मूल कथालाई सङ्क्षेपमा प्रस्तुत गरिएको छ । पुस्तकमा समावेश चित्रकार रवि मिश्रद्वारा कोरिएका आकर्षक चित्रले बालबालिकालाई कथासँग अझ नजिक बनाउने अपेक्षा गरिएको छ ।
चाडपर्वको फुर्सदिलो समयमा यस पुस्तकको अध्ययनले बालबालिकालाई पौराणिक ज्ञान र संस्कृतिप्रति रुचि बढाउन सहयोग गर्ने लेखकले विश्वास लिनुभएको छ । सो पुस्तक कलम प्रकाशन, काठमाडौँले प्रकाशित गरेको हो ।