काठमाडौँ, पुस ३ : पछिल्लो समय सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकले नेपालमा कन्टेन्ट मोनिटाइजेसन बन्द गरेको खबर चर्चामा छ । फेसबुक पेज तथा क्रियटरहरूको ड्यासबोर्डमा ‘Your ability to earn is limited‘ र ‘Local legal requirement or government request‘ जस्ता सूचना देखिन थालेपछि यस्तो खबर फैलिएको हो ।
केही सञ्चारमाध्यमहरुमा समेत ‘मोनिटाइजेसन बन्द‘ भन्ने समाचारहरू प्रकाशित भएपछि प्रयोगकर्ताहरूमाझ मोनिटाइजेसन बन्द भएको खबर फैलिएको हो । तर वास्तविकता भने फरक छ । फेसबुकको माउ कम्पनी मेटाका अमेरिकास्थित प्रतिनिधिका अनुसार फेसबुकले तोकेका नियम परिवर्तन भएको कारणले मोनिटाइजेसनमा समस्या देखिएको हो ।
के हो समस्या ?
फेसबुकले नेपालमा मोनिटाइजेसन सुविधा सुरु गर्दा तुलनात्मक रूपमा सहज मापदण्ड तोकेको थियो । पहिलो अपडेटका क्रममा क्रिएटरले २८ दिनभित्र ५ लाख इन्गेजमेन्ट पुर्याउनु पर्ने र २ हजारभन्दा बढी फलोअर भएपछि मोनिटाइज गर्न पाउने प्रावधान थियो । यो मापदण्ड सहज भएकाले नेपालमा धेरैक्रिएटरहरू मोनिटाइजेसनका लागि योग्य भएका थिए ।
तर, करिब पाँचदिन अघि मेटाले आफ्नो नियम अपडेट गर्यो । नयाँ नियम अनुसार, मोनिटाइज हुनका लागि क्रिएटरहरूले ९० दिनभित्र कम्तीमा तीनवटा रिल अपलोड गर्नुपर्ने, प्रयोगकर्ताको १० हजार फलोअर्स हुनुपर्ने र २८ दिनभित्र १ लाख ५०हजार भ्युज हुनुपर्ने मापदण्ड तोकेको छ ।

नेपालमा मोनिटाइजेसन सुविधा खोल्दा ‘स्टार्स’, ‘बोनस’ र ‘एड्स’ जस्ता फिचरहरू उपलब्ध गराइएका थिए । यद्यपि,नेपाली प्रयोगकर्ताले स्टार्स पठाउने प्रचलन नभएकाले धेरैजसो आम्दानी ‘कन्टेन्ट मोनिटाइजेसन‘ बाटमात्र हुने गरेको थियो । हालै भएको अपडेटपछि फेसबुकले लाइभ एड्स (लाइभ स्ट्रिमगर्दा आउने विज्ञापनहरू) हटाइएका छन् । त्यसैगरी, रिलमा आउने विज्ञापनहरू (रिलको तल वा अन्त्यमा आउने विज्ञापनहरू) पनि हटाइएको हो ।
जुन-जुन पेजहरू पहिले नै मोनिटाइज भइसकेका थिए र इनेबल थिए, उनीहरूले फेसबुकबाट ‘कन्टेन्ट मोनिटाइजेसन इज लिमिटेड‘ भन्ने सन्देश प्राप्त गरेका थिए । यो सन्देश आउनुको मुख्य कारण आम्दानीका स्रोतहरूमा कटौती हुनु हो । उदाहरणका लागि, यदि क्रिएटरले पहिले १० वटा माध्यमबाटआम्दानी गर्न पाउँथे भने, अहिले त्यो सङ्ख्या दुई वटामा सीमित हुन पुगेको हो ।
यसर्थ, मोनिटाइजेसन पूर्ण रूपमा बन्द नभई आम्दानी गर्ने माध्यमहरूमा सङ्कुचन आएकाले यसलाई ‘सीमित‘ भनिएको हो । यद्यपि, फेसबुकले हटाएको भनिएका केही फिचरबाट समेत अहिले पनि कमाइ भइरहेको हुनसक्ने भएकाले फेसबुकको आधिकारिक भनाइ र क्रिएटरहरूको वास्तविक कमाइको अवस्था ठ्याक्कै मेल खाँदैन ।
– दया दुदराज
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











