गण्डकी । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका कास्कीका ९२ जनामध्ये हालसम्म जम्मा आठ जनाले मात्र घाइते परिचयपत्र र भैपरी खर्च बुझेका छन् ।
जिल्ला प्रशासन कार्यालय, कास्कीले गत असोज २४ गते आन्दोलनका घाइतेलाई परिचयपत्र र भैपरी खर्च लिन आउन सार्वजनिक रूपमा सूचित गरेको थियो ।
गृह मन्त्रालयबाट प्राप्त घाइतेहरूको सूचीबमोजिम कास्कीमा स्थायी ठेगाना भएका घाइतेहरूलाई परिचयपत्र र भैपरी खर्च वितरण भइरहेको कार्यालयका प्रशासकीय अधिकृत झविश्वर रेग्मीले बताए। “आइतबारसम्म आठ जनालाई घाइते परिचयपत्र रु २० हजारका दरले भैपरी खर्च प्रदान गरिएको छ”, उनले भने, “अन्य घाइतेहरू पनि सम्पर्कमा हुनुहुन्छ, आफ्नो आवश्यकता र अनुकूलता अनुसार उहाँहरू आउनुहोला ।”
यस बीचमा दसैँ, तिहारलगायत चाडबाडको लामो बिदा परेकाले पनि कार्यालयबाट सेवा लिन आउनेको सङ्ख्या कम भएको प्रशासकीय अधिकृत रेग्मीले बताए। परिचयपत्र वितरणपछि सोही आधारमा घाइतेलाई तत्कालका लागि भैपरी खर्चबापत रु २० हजार दरले रकम उपलब्ध गराइएको उनको भनाइ छ ।
भैपरी खर्चका लागि ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भई अस्पतालमा उपचार गराएको बिरामी टिकट र डिस्चार्जसम्बन्धी कागजात, नागरिकताको प्रमाणपत्र, तस्बिर र घाइतेका नाममा रहेको बैंक खाताको चेकको प्रतिलिपिसहित कार्यालयमा उपस्थित हुनुपर्ने उनले बताए । कार्यालयले घाइते स्वयं आउन नसके परिवारका सदस्यलाई सम्पर्क राख्न सूचित गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















