काठमाडौँ, भदौ २७ : राजनीतिक दलका दोस्रो तहका नेताहरूले भ्रष्टाचार अन्त्य गर्न राज्यको उच्च तहमा बसेका सबैको सम्पत्ति छानबिन गरी कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय आयोग गठन बनाउन माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस र जसपा नेपाल र रास्वपाका दोस्रो तहका नेताहरूले संयुक्त विज्ञप्तिमार्फत यस्तो माग गरेका हुन् । संयुक्त विज्ञप्ति उनीहरूले बिहीबार भएको भर्चुअल (जुम) छलफलपछि तयार गरेका थिए ।
विज्ञप्तिमा धनश्याम भुसाल, जनार्दन शर्मा, सुरेन्द्रप्रसाद पाण्डे, मिनेन्द्र रिजाल, एनपी साउद, देवेन्द्र पौडेल, सुदन किराती, राजकिशोर यादव, गोकर्ण विष्ट, रामकुमारी झाँक्री, अमनलाल मोदी, सन्तोष परियार, मीना तामाङ्, चन्द्र भण्डारी, प्रकाश ज्वाला र स्वत्रन्त्र सांसद अमरेश सिंहको सहमति छ ।
संविधानको संशोधन र परिमार्जनबारे विभिन्न मत रहेको सन्दर्भमा ध्यान दिँदै यसको पुनरावलोकन गरी आवश्यक सुधारका विषयलाई सरोकारवाला सबैसँग परामर्श गरी सिफारिस गर्न संविधान पुनरावलोकन तथा सुधार आयोग गठन गर्नुपर्ने उनीहरूको धारणा छ ।
उनीहरूले अन्तरिम सरकार गठनपछि आन्दोलनको क्रममा भएको जनधनको क्षति, सार्वजनिक तथा निजी सम्पत्तिको क्षति, व्यक्तिकेन्द्रित हमलाको समग्र छानबिन गरी दोषी एकीन गर्न र उनीहरूलाई कानुनको दायरमा ल्याउन शक्तिशाली आयोग गठन हुनुपर्ने बताएका छन् ।
आन्दोलनले स्थापित गरेका मुद्दाहरू भ्रष्टाचारको अन्त्य गरी सुशासनको सुनिश्चितता, राजनीतिक स्थायित्व, परिवारवादको अन्त्य र नयाँ पुस्ताबाट नेतृत्व गर्ने वातावरण सिर्जना गर्ने, सत्तामा लामो समयसम्म निश्चित व्यक्तिको हालीमुहाली हुनुले आजको संकटको अवस्था सिर्जना गरेको पनि बताएका छन् ।
उनीहरूले भनेका छन्, ‘नयाँ पुस्ताबाट नेतृत्वको वातावरण सिर्जना गर्ने, सत्तामा लामो समयसम्म निश्चित व्यक्तिको हालीमुहाली हुनुले आजको संकटको अवस्था सिर्जना गरेकाले आइन्दा यस्तो अवस्थाको पुनरावृत्ति हुन नदिन राजनीतिक दलसम्बन्धी कानुन परिमार्जनमार्फत सत्तालाई दुरुपयोग गर्ने अवस्था अन्त्य गरियोस ।’
‘आन्दोलनको क्रममा अवान्छित तत्वहरूले सार्वजनिक र निजी संरचना राज्यका तथ्यतथ्याङ्क श्रेस्ता सम्पूर्ण जलाएर समाप्त पारिएको छ । ठूलो आर्थिक क्षति भएको छ । यस्तो परिस्थितिमा संवैधानिक रूपले राष्ट्रपतिज्यूको अहम् भूमिका हुने, राष्ट्र र राष्ट्रियताको रक्षा तथा नेतृत्व गर्न कमी हुने छैन भन्ने विश्वास व्यक्त गर्दछौँ‘, उनीहरूले भनेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















