राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राखिएको भैरहवा कारागारको अवस्थाबारे राष्ट्रिय मानवअधिकार आयोगको टोलीले स्थलगत अनुगमन गरेको छ।
अनुगमनपछि आयोगले कारागारमा क्षमताभन्दा अत्यधिक कैदीबन्दी रहेको र आधारभूत मानवीय सुविधाको समेत अभाव रहेको पाइएको जनाएको छ।
लामिछानेलाई कारागारमा अमानवीय र आधारभूत सुविधाविहीन अवस्थामा राखिएको आयोगको भनाई छ। खुला शौचालय, प्लाइउडले बन्द गरिएको झ्याल र सूचनाको पहुँचबाट वञ्चित गरिएको अवस्थामा लामिछानेलाई राखिएको आयोगले जनाएको छ।
आयोगकी आयुक्त लिली थापा र इन्सेककी प्रतिनिधि रिमा बिसीसहितको टोलीले गरेको स्थलगत अनुगमनका क्रममा लामिछानेको कोठाको अवस्था दयनीय पाइएको हो।
अनुगमन टोलीका अनुसार लामिछानेलाई राखिएको कोठामा एसी जडान गरिएको छैन। गर्मी छल्नका लागि एउटा ठूलो स्ट्यान्ड पंखा र एउटा टेबल पंखा मात्रै दिइएको छ।
आयोगका अनुसार उनको कोठाको झ्याल प्लाइउडले पूरै बन्द गरिएको छ। स्वच्छ हावा आवतजावत हुन पाएको छैन। कारागार प्रशासनले सुरक्षाको कारण (सर्प आउने र बाहिरबाट ढुंगा हान्न सक्ने) देखाउँदै झ्याल बन्द गरेको बताए पनि आयोगको टोलीले आग्रह गरेपछि हावाका लागि खोल्ने प्रतिबद्धता जनाएको छ।
कोठाभित्रै एउटा ढोका नभएको खुला शौचालय छ। सुत्नका लागि एउटा छोटो खाट र किताब राख्ने टेबलबाहेक अन्य सुविधा छैन। उनले आफूले खाइरहेको खानाप्रति भने सन्तुष्टि जनाएका छन्।
आयुक्त थापाका अनुसार लामिछानेलाई पत्रपत्रिका पढ्न दिइएको छैन, यद्यपि उनको साथमा एउटा सानो रेडियो भने रहेको छ।
‘सबैभन्दा गम्भीर कुरा, अदालतले उनलाई अन्यत्र स्थानान्तरण गर्न दिएको आदेशसमेत सरकारले कार्यान्वयन गरेको छैन,’ थापाले भनिन्, ‘यो विषयमा आयोगले कारागार व्यवस्थापन विभागसँग गम्भीर छलफल गर्नेछ।’
लामिछानेको मात्र नभई, समग्र भैरहवा कारागारको अवस्था नै अत्यन्तै चिन्ताजनक रहेको आयोगको निष्कर्ष छ। २५० जनाको क्षमता रहेको कारागारमा ७०० भन्दा बढी कैदीबन्दी राखिएको छ। कैदीबन्दीका लागि पर्याप्त शौचालय छैनन् र भएका पनि फोहोर र अव्यवस्थित छन्।
सरकारले स्रोतसाधन र पूर्वाधारमा ध्यान नदिँदा कैदीबन्दीहरू न्यूनतम मानवीय अधिकारबाट समेत वञ्चित हुनुपरेको अवस्था रहेको अनुगमन टोलीले बताएको छ।
क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिनु नै मानवअधिकारको गम्भीर उल्लंघन भएको आयोगको ठहर छ।