12/31/2025, 19:40:05
बुधबार, पुष १६, २०८२

‘मुलुक निर्वाचनतर्फ गयो, अब के होला भन्ने अन्यौलता छैन’


काठमाडौँ, पुस १६ गते। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौँमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो।

संयोजक दाहालले अब मुलुकमा के होला भन्ने अन्यौलता हटेको र सबै राजनीतिक दल र आम जनतालाई निर्वाचनतिर लैजाने वातावरण बनाएको भन्दै सरकारप्रति आभार समेत व्यक्त गर्नुभयो। प्रचण्डले भन्नुभयो, ‘अब के होला भन्ने अन्यौल भन्दा अब निर्वाचनको तयारीतिर देश गएको छ। अहिले शान्ति, स्थायित्व र समृद्धिका धेरै भाषणा गर्नुभन्दा यो बारे हामीले धेरै कुरा गरिसकेका छौं।

सरकारले धेरै खालका जटिलता, चुनौतीहरु, समस्या, अपठयारा झेल्दै निर्वाचनको वातावरण बनाएको संयोजक दाहालको निष्कर्ष थियो।

उहाँले भन्नुभयो, ‘सरकार, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्रका सबै प्रतिनिधि, मिडियाकर्मी पनि सबै बसेर एउटा सर्वपक्षीय सहमतीद्वारा अगाडि बढने संकल्प गर्ने वातावरण बनाउने भएको मैले महसुस गरेको छु। अब अहिले त देश अन्यौलमा छैन भन्ने हामी सबैलाई लागेको छ। प्रधानमन्त्रीज्यू र सरकारलाई विशेष धन्यवाद भन्न चाहन्छु तपाईंहरुलाई निकै अप्ठयारो भएको महसुस हामीले गरेका छौँ। धेरै खालका जटिलताहरु, चुनौतीहरु, समस्याहरु, अपठयाराहरु झेल्दै निर्वाचन नै हो देशलाई निकास दिने अर्को होइन भनेर जो दृढता तपाईहरुले पर्दशन गर्नुभयो। अब सबै राजनीतिक दल र आम जनता पनि निर्वाचनको मानसिकतामा अघि बढने वातावरण बनाउनु भयो।

प्रचण्डले निजी क्षेत्रलाई संरक्षण गर्नुपर्नमा जोड दिनुभयो। अवसरमा संयोजक दाहालले निजी क्षेत्रको संरक्षण विना मुलुकलाई समृद्ध बनाउन सकिने अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो।