06/16/2025, 19:59:08

पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन


अर्घाखाँची २ असारः पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री (पौडेल)को निधन भएको छ । काठमाडौँको केएमसी अस्पतालमा उपचारका क्रममा उहाँको आज बिहान ४ः०० बजे ९० वर्षको उमेरमा निधन भएको हो ।

अर्घाखाँचीको साबिक किमडाँडा पञ्चायत–८ हाल भूमिकास्थान नगरपालिका–८ निमडाँडामा बुबा खेमराज पौडेल र माता सावित्रा पौडेलका जेठो सन्तानका रूपमा विसं १९९३ सालमा जन्म भएको थियो । समाजवादी चिन्तक शास्त्रीका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् । एक श्रीमतीको भने निधन भइसकेको छ । उहाँका छोराहरु देश बाहिर रहेकाले उहाँहरु आएपछि दाहसंस्कार गरिने उहाँका पारिवारिक सदस्य अशोक पौडेलले जानकारी दिनुभएको छ ।

शास्त्री विसं २०१० मा भारतको वाराणसीमा अध्ययन गर्दै गर्दा नेपाली कांग्रेसको राजनीतिमा जोडिनुभएको थियो । उहाँले पढाइ पूरा भएपछि पार्टीका तर्फबाट भूमिगत राजनीति गर्नुभयो । विसं २०१४ मा नेपाली कांग्रेसले सुरु गरिको भद्र अवज्ञा आन्दोलनमा अर्घाखाँची जिल्लाको अगुवाइ गर्दै उहाँले पाल्पाको तानसेनमा भाग लिनुभएको थियो । विसं २०१५ को आम निर्वाचनमा सक्रिय रूपमा लाग्नुभएका उहाँ विसं २०१७ पुस १ गते राजा महेन्द्रले संसद् भङ्ग गरी नेताहरुलाई जेल हालेको समयमा गुल्मी र अर्घाखाँचीका युवालाई क्रान्तिमा संलग्न गराउने कार्यमा  महत्पूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

विसं २०१७ सालपछि उहाँ भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । शास्त्रीले तत्कालीन समयमा भारतको गोरखपुरमा गोरखपुर महाविद्यालयमा केही समय अध्यापन गराउनुभएको थियो । उहाँ गोरखपुरमा छँदा प्रजातन्त्रको लडाइँका लागि पर्चा पम्प्लेट र पत्रिका प्रकाशित गरी नेपाल पठाउनुहुन्थ्यो ।

बिपी कोइरालाका कट्टर अनुयायी शास्त्री समाजवादका व्याख्याता हुनुहुन्थ्यो । भूमिगत रूपमा अर्घाखाँची र गुल्मीलगायतका जिल्लामा नेपाली कांग्रेसको सङ्गठन बिस्तारमा उल्लेख्य भूमिका निर्वाह गर्नुभएका उहाँले विसं २०३६ र २०४६ सालको जनआन्दोलनमा पनि नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।

विसं २०४६ सालको जनआन्दोलनपछि भएको २०४८ सालको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट सांसदमा भारी मतले विजयी हुनाका साथै उद्योगमन्त्री बन्नुभएको थियो । विसं २०५१ को मध्यावधि निर्वाचनमा पनि विजयी हुनुभएको थियो । त्यसपछिका निर्वाचनमा पार्टीले समानुपातिक सांसद बन्न गरेको आग्रह अस्वीकार गर्नुभएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ