तनहुँ, २० पुसः बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडद्वारा प्रवर्द्धन गरिएको बन्दीपुर केबलकारको लिग भाँचिएको छ । केबलकारको लिग भाँचिएर डिब्बा लत्रिएपछि कम्पनीले मर्मतका लागि भन्दै दुई दिन केबलकार सञ्चालन बन्द गरेको छ ।
केबलकारको दुई नम्बर पोलसँगैको भागमा रहेको लिग भाँचिएर डिब्बा लत्रिएपछि मर्मतका लागि दुई दिन केबलकार बन्द गरिएको बताइएको छ । लिगको तार चुँडेर तल लत्रिएपछि एउटा डिब्बा भुईँ नजिकै झुन्डिन पुगेको स्थानीयले बताएका छन् । डिब्बा खाली हुँदा मानवीय तथा अन्य भौतिक क्षति नभएको बताइएको छ ।
लिग र डिब्बा लत्रिँदा ठूलो आवाज आएको र स्थानीयले के भएछ भनी हेर्दा केबलकारको डिब्बा खसेको अवस्थामा भेटेका थिए । केबलकारमा केही समस्या आएकाले प्राविधिकहरू पोलमा चढाएर काम भइरहेको बताइएको छ ।
यस्तै केबलकारमा समस्या आएपछि आज र भोलि बन्द गरिएको छ । केबलकारको सेवा थप चुस्त र दुरुस्त बनाउन टीयुभी अन्तर्गत केही विद्युतीय प्रणालीमा स्तरोन्नति गर्नुपर्ने भएकाले बन्द गरिएको बन्दीपुर हिलका अध्यक्ष रामचन्द्र शर्माले जानकारी गराएका छन् ।
‘बन्दीपुर हिलले आज सूचना जारी गर्दै यसबाट यात्रु तथा पर्यटकलाई पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं,’ भनेको छ । स्काइ साइक्लिङ, जिपलाइन सेवा र ड्राइभ इन रेस्टुरेन्टको सेवा भने नियमित रूपमा सञ्चालनमा रहने बन्दीपुर हिलका अध्यक्ष शर्माले बताए ।