काठमाडौँ। बुद्ध एयरमा मालिक समेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री दिनेश प्रसाईँ सहितका व्यक्तिहरू संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ ।
आयोगमा बिहीबार दर्ता भएको पार्टीको अध्यक्षमा प्रसाईँ छन् । पार्टीको महासचिव पियुषप्रसाद कायस्थ रहेका छन् । व्यवसायी बस्नेत भने सदस्य छन् ।
पार्टीको विधानमा पदाधिकारीहरू चुनाव नलड्ने व्यवस्था छ । बस्नेत चाहिँ सदस्य रहेकाले चुनाव लड्नका लागि बाधा हुने छैन ।
‘अबको चुनावमा पनि विरोधको राजनीति, पेसागत राजनीतिले प्रश्रय पायो भने नेपाल गहिरो अँध्यारो खोँचमा फस्नेछ जसबाट निस्कन धेरै मेहनत र बलिदान गर्नुपर्ने हुन्छ’ पार्टीको आह्वान पत्रमा छ,’त्यसैकारण अब सोचयुक्त र सृजनशील राजनीति गरौँ । इमानदारीको राजनीति गरौँ । त्यागको राजनीति गरौँ ।’
पार्टीले अबको नेपालमा एउटा नियमसंगत राजनीतिक संस्कारलाई विकास गरी स्थापित गर्न जरुरी रहेको उल्लेख गरेको छ । ‘आजको पुस्ता र भावी पुस्ताले समावेशी र समतामूलक उज्ज्वल भविष्य प्राप्त गर्न सकुन्’ पार्टीले भनेको छ ।