09/22/2025, 01:23:55
आइतबार, असोज ०५, २०८२

प्रधानमन्त्री कार्कीद्वारा पाँच मन्त्रीको नाम सिफारिस


काठमाडौँ, ५ असोज :  प्रधानमन्त्री सुशीला कार्कीले पाँच जना मन्त्रीको नाम सिफारिस गरेकी छन् । जसमा अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण, महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि, जगदीश खरेललाई सञ्चार र संगीता मिश्रा स्वास्थ्यमन्त्रीका रूपमा उनीहरूको नाम सिफारिस गरेको प्रधानमन्त्री कार्यालय स्रोतले पुष्टि गरेको हो ।

सिह्ना सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । सर्वोच्च अदालतको न्यायाधीशका रूपमा १७ साउन २०७३ मा नियुक्त भएका सिह्नाले ६५ वर्षे उमेर हदका कारण १४ कात्तिक २०८० मा सेवा निवृत्त भएका थिए ।

सञ्चारमन्त्रीका रूपमा सिफारिस भएका खरेल इमेज मिडिया ग्रुपका समाचार प्रमुख हुन्। वरिष्ठ जलवायु तथा कृषि विज्ञ परियार समता फाउन्डेसनका अध्यक्ष समेत हुन् । उनले यसअघि संविधानसभाको राज्य पुनर्संरचना उच्चस्तरीय आयोगको संयोजक रहेर काम गरेका थिए।

पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन् । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुन सामाजिक अभियन्ताका रूपमा पनि परिचित छन् । ‘रोमन म्यागासेसे अवार्ड’ विजेता पुन नेपालमा विज्ञान र अनुसन्धानको विकास गर्न लामो समयदेखि सक्रिय छन् । पुनले आफ्नै जीवनकथा समेटेर ‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ प्रकाशन समेत गरेका छन् । पछिल्लो समय उनी २०५९ सालदेखि बन्द अवस्थामा रहेको वीरगन्जस्थित कृषि औजार कारखानालाई पुन: सञ्चालनमा ल्याउँदै त्यही परिसरमा नयाँ आविष्कारका कामहरू गरिरहेका छन् ।

मिश्रा पछिल्लो समय स्वास्थ्य अतिरिक्त सचिव थिइन् । उनले सो पदबाट राजीनामासमेत दिइसकेकी छिन् । स्वास्थ्य सचिवको पद रिक्त भएपछि नयाँ सचिव नियुक्तिका लागि बढुवा समितिले डा. मिश्रासहित ३ जनाको नाम सिफारिस गरे पनि तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गरेपछि डा. मिश्राले असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

०५७ सालमा स्वास्थ्य सेवा प्रवेश गरेकी मिश्रा बीचमा ‘ग्याप’ गरेर पुन: खुला प्रतिस्पर्धामार्फत २०७० सालमा सरकारी सेवामा फर्किएकी थिइन् । खुला प्रतिस्पर्धाबाट ११औं तहमा नाम निकालेकी उनले कोशी अस्पताल तथा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुखको जिम्मेवारी निर्वाह गरेकी थिइन् ।

२०८० भदौ १३ देखि करिब एक वर्ष स्वास्थ्य सेवा विभागको महानिर्देशकको भूमिका निर्वाह गरी मन्त्रालयमा आएकी उनले कुनै समय मन्त्रालयमै प्रवक्ताका रूपमा समेत काम गरेकी थिइन् ।

जेन–जीको विद्रोहपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको तेस्रो दिनमा तीन मन्त्री यसअघि नै नियुक्त भइसकेका छन् ।