नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अहिले कांग्रेसमा बृहत्तर एकता चाहिएकोले हतारमा कुनै निर्णय नलिने बताएका छन् । जेन–जी आन्दोलनपछि पार्टीमा नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने आवाज उठिरहेका बेला खड्काको अर्थपूर्ण भनाइ आएको हो ।
आन्दोलनकारीहरूले जलाएको सानेपास्थित पार्टी कार्यालयको बुधबार निरीक्षणपछि उपसभापति खड्काले भने, ‘पार्टीमा बृहत्तर एकता चाहिएको छ । त्यसको आडमा पार्टी उठेको इतिहास छ । एकताबद्ध भएर उठाउँछौँ । हतारिएर निर्णयमा पुग्दैनौँ ।’
कांग्रेसमा विशेषगरी गगन थापा समूहले सभापति शेरबहादुर देउवालाई राजीनामा दिन दबाब बढाइरहेको छ । विशेष महाधिवेशन बोलाएर नयाँ नेतृत्व चयन हुनुपर्ने यो समूहको माग छ । उपसभापति खड्काले विवेकपूर्ण तरिकाले सबै पुस्तालाई समेटेर अघि बढ्ने बताए । उनले थपे, ‘विवेकपूर्ण तरिकाले सबै पुस्तालाई समेटेर अघि बढ्छौँ । यसको लागि गम्भीरतापूर्वक छलफल गरिरहेका छौँ । सल्लाह गरेर अघि बढ्छौँ ।’
उनले पार्टी कार्यालय जलेको देख्दा आफूलाई बोल्न पनि गाह्राे भइरहेको बताए । ‘बोल्न पनि गाह्रो अवस्था छ । कृष्णप्रसाद भट्टराईको कार्यकालमा क्रियाशील सदस्यको पैसा, शुभेच्छुकको हजारौँको चन्दा संकलन गरेर बनाएका थियौँ,’ उनले भने, ‘नेपालको नक्सा तानेर जुत्ताले हानेको देखियो । युवाले खरानी पार्न आन्दोलन गरेका थिए र ?’
युवाहरूले सुशासन, भ्रष्टाचारमुक्त समाज र सामाजिक सञ्जालको प्रतिबन्ध हटाउन आन्दोलन गरे पनि त्यसमा घुसपैठ भएको खड्काको दाबी छ । उनले अब सबै मिलेर देशलाई माथि उठाउनुपर्ने बताए । खड्काले ३ गते देशभर शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर संविधान दिवस मनाउने निर्णय भएको जानकारी दिए ।