लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता अनिल कुमार झाले पदबाट राजीनामा दिएका छन्। झाको राजीनामा पार्टीले स्वीकृतसमेत गरिसकेको छ। केही महिना अगावै दिएको झाको राजीनामा गत साउन ४ गते पार्टीले स्वीकृत गरेको हो।
पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलका अनुसार झाले केही महिना अगावै राजीनामा दिएका थिए। राजीनामा दिएसँगै पार्टीमा उनी निष्क्रिय थिए। ‘उहाँले धेरै अगाडि नै राजीनामा बुझाउनुभएको हो, पार्टीमा। त्यससँगै उहाँ निष्क्रिय हुनुहुन्थ्यो। पछिल्ला बैठकहरूमा उहाँ उपस्थित हुनुहुन्नथ्यो,’ सोनारले भने, ‘अहिले राजीनामा दिइसक्नुभएको हो।’
झा अब सद्भावना पार्टीमा समाहित हुँदैछन्। आफू सद्भावनामा समाहित हुनकै लागि लोसपाबाट अलग भएको झाले बताए। सद्भावनालाई मातृपार्टी भन्दै झाले भने, ‘सबैनेताहरू मातृपार्टीतिर फर्किँदैछन्। यो सन्दर्भमा मैले पनि त्यही गरेको हुँ। अब म मातृपार्टीतिरै फर्किन्छु। त्यहीँबाटै राजनीतिक जीवनलाई अगाडि बढाउँछु।’
झा विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय छन्। सद्भावना पार्टीमा आवद्ध भएर राजनीतिक जीवन सुरु गरेका उनी लामो समय सोही पार्टीमा रहे। पार्टी विभाजनको क्रममा उनी विभिन्न पार्टीमा आवद्ध हुँदै पछिल्लो समय महन्थ ठाकुर नेतृत्वको लोसपामा थिए। तर, अब लोसपा छोडेर पुन: सद्भावनामै फर्किँदैछन्।
उनी २०७४ सालको संसदीय निर्वाचनमा रौतहट क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। त्यसपछि झा खानेपानीमन्त्रीसमेत भएका थिए। पछिल्लो संसदीय निर्वाचनमा भने उनी पराजित भएका थिए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















