07/18/2025, 19:30:58

मिडियाका चुनौती सामना र मर्यादा अभिवृद्धिका लागि काउन्सिलले प्रभावकारी भूमिका खेल्नेछः कार्यवाहक अध्यक्ष यादव


 काठमाडौँ, २ साउनः पत्रकार सुरेश यादव हाल मधेश प्रदेश मिडिया काउन्सिलको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । मिडिया काउन्सिल प्रदेशमा रहेका आमसञ्चार माध्यममा आचारसंहिता पालना गर्न उत्प्रेरित गर्नुका साथै आचारसंहिता जागरण, पत्रकारको क्षमता अभिवृद्धि, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा प्रवर्द्धन गरी मर्यादित, जिम्मेवार पत्रकारिताको विकास गर्ने एवं प्रेस स्वतन्त्रताको संरक्षणका लागि काम गर्दै आएको छ । यसका साथै पत्रकार आचारसंहिता उल्लंघनका विषयमा उजुरी सुन्ने, सोउपर अध्ययन अनुसन्धान गरी आवश्यक कारबाही, आमसञ्चार माध्यममा आचारसंहिताको अनुगमनका लागि काउन्सिलले काम गरिरहेको छ । यसै सन्दर्भमा काउन्सिलको अबको भूमिकालगायत विषयमा अध्यक्ष यादवसँग गरिएको कुराकानीको  सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
मैले भर्खरै मिडिया काउन्सिलको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेको छु । काउन्सिलले मुख्यगरी पत्रकारको आचारसंहिताको पालनामा जोड दिइरहेको छ । यसले पत्रकार आचारसंहिताबारे गोष्ठी, तालिम वा अन्तरक्रिया पनि सञ्चालन गर्छ । यसका साथै काउन्सिलले आमसञ्चारगृह तथा पत्रकारको क्षमता अभिवृद्धिको काममा पनि जोड दिँदै आएको छ ।
आचारसंहिता जागरण र मिडियाकर्मीको क्षमता अभिवृद्धि मात्रै होइन, काउन्सिलले मिडियामा प्रकाशित प्रसारित समाचारका कारण कोही पीडित भएमा उसलाई न्याय दिने काम पनि गर्छ । मधेश प्रदेशभित्र कसैलाई आमसञ्चारमाध्यममा आएका समाचारमा चित्त बुझेको छैन भने काउन्सिलमा उजुरी दिने व्यवस्था छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट विनियोजन भई नयाँ आर्थिक वर्ष प्रारम्भ भइसकेको छ । काउन्सिलका लागि करिब रु तीन करोड बजेट विनियोजन गरिएको अवस्था छ । बजेटअनुसार कार्यक्रम बनाउने काम पनि प्रारम्भ गर्दैछौँ । यस विषयमा प्रदेशमा रहेका सरोकार भएकाहरूका साथै काठमाडौँमा पनि विभिन्न पक्षसँग कस्ता कार्यक्रम बनाउँदा प्रभाकारी हुन्छ भनेर आवश्यक छलफल पनि गरिरहेका छौँ । प्रेस काउन्सिल नेपाल, राष्ट्रिय सूचना आयोग र राससलगायत सञ्चारसम्बद्ध संस्थासँग पनि छलफल गरेको छु । परार्मश लिने काम भइरहेको छ । मेरो अबको उद्देश्य भनेको मधेश प्रदेशभित्र रहेका आठ जिल्लाभित्रको पत्रकारितालाई प्रवर्द्धन गर्ने हो । मिडियालाई व्यवस्थित गर्दै व्यावसायिक र मर्यादित बनाउने काममा सबैसँग सल्लाह गरेर अगाडि बढ्छौँ । सबैभन्दा महत्त्वपूर्ण कुरा पछिल्लो समय समग्र पत्रकारिताको मर्यादामाथि प्रश्न उठिरहेको छ । त्यसकारण आममिडियालाई मर्यादित बनाउनु पनि काउन्सिलेको जिम्मेवारी हो । यसका लागि पनि दत्तचित्त भएर काम गर्छौं ।
यस आर्थिक वर्षमा काउन्सिले मधेश प्रदेशभित्र रहेका सञ्चारमाध्यमको अनुगमन पनि गर्नेछ र मिडियालाई स्वअनुगमनका लागि प्रोत्साहितसमेत गर्नेछ । सञ्चारमाध्यम र पत्रकारको क्षमता विकासलाई विशेष जोड दिनेछौँ । विभिन्न कारणले आमसञ्चारमाध्यममा विकृति–विसङ्गति बढ्दै गइरहेका छन् भनेर उठिरहेका जनचासोका बारेमा पनि हामी मिहिन ढङ्गले काम गर्नेछौँ । हाल पत्रकारिता के हो र के होइन भन्ने विषयमा पनि बहस भइरहेको छ । सूचना प्रविधिका कारण विकास भइरहेका युट्युब र अरू सामाजिक सञ्जालको उपस्थितिका कारण यो प्रश्नलाई थप पेचिलो बनाइरहेको अवस्था छ । निष्पक्ष रुपमा समाचार आएको जस्तो लाग्दैन भनेर हामीले पनि महसुस गरेका छौँ । यस विषयमा बृहत् बहस तथा अन्तरक्रिया गर्नुपर्ने आवश्यकता छ । यो काम पनि काउन्सिलले गर्नेछ । मूलधारको पत्रकारिता वा सञ्चारमाध्य र नयाँ प्रविधिको उपयोगका सन्दर्भमा युट्युबलगायत माध्यमबाट भइरहेका क्रियाकलापबारे पनि उपयुक्त सन्देश दिनेगरी काउन्सिलले काम गर्ने सोच बनाएको छ ।
मधेशमा मात्रै होइन, समग्र देशकै पत्रकारितामाथि विविध चुनौती र अपेक्षा छन् । विज्ञापन बजारको संकुचनका कारण मिडियामाथि व्यवस्थापकीय चुनौती थपिएका छन् । धेरैजासो मिडियाले सङ्कटको सामना गरिरहेका छन् । त्यो आर्थिक कोणले मात्रै होइन, मिडियाकमाथिको विश्वासको सङ्कटका हिसाबले पनि सोच्नुपर्ने भएको छ । स्वाभाविक रूपमा त्यसको प्रभाव मधेश प्रदेशमा पनि पर्ने नै भयो । त्यसै पनि मधेशको पत्रकारिता छायामा पर्दै आएको छ । हामीले पहिले मोफसलको पत्रकारिता गरिरहेका छौँ भन्थ्यौँ, तर हाल प्रादेशिक राजधानी भएपछि जनकपुरलाई मोफसल भन्न मिल्दैन । देशको नजरबाट हेर्दा मोफसल र मधेश प्रदेशको नजरबाट हेर्दा यस क्षेत्रलाई मूलधारकै रूपमा विश्लेषण गर्नुपर्ने अवस्था छ ।
यहाँ पत्रकारिताको व्यावसायिकबारे चर्चा हुने गर्छ । समस्या त छन्, तर तीनलाई व्यवस्थापन गर्दै अगाडि बढ्नुको विकल्प छैन । मैले हिजो मात्रै सङ्घीय राजधानी काठमाडौँमा रहेका तीनचार वटा सञ्चारगृहमा छलफल तथा भ्रमण गरेँ । कतिपयले जनकपुरमा राम्रो समाचारदाता चाहियो भन्नरभयो । जनकपुर मधेश प्रदेशको केन्द्र हो, तर त्यहाँ सोचेअनुसार समाचारदाता  पाउन  गाह्रो भयो भनेर उहाँहरूले गुनासो गरिरहनुभएको थियो । यहाँ पत्रकारको सङ्ख्या कम छैन, तर काम गर्ने पत्रकारको सङ्ख्या कमी छ । अब सङ्ख्यात्मक मात्रै होइन, गुणात्मक पत्रकारिताको विकासका लागि मिडियासम्बद्ध पेसागत संस्थाहरूसँग छलफल गरेर काम गर्नेछौँ । सहकार्य र समन्वयको माध्यमबाट यस क्षेत्रमा देखिएको चुनौतीको सामना र सम्भावनाको खोजी गर्ने कार्यमा मिलेरै अगाडि बढाउने परिस्थिति निर्माणका लागि कार्यवाहक नेतृत्वको हिसाबले मेरो भूमिका रहने छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..