11/17/2025, 21:32:49
सोमबार, मङि्सर ०१, २०८२

एनपिएल : काठमाडौँको विजयी सुरुवात, जनकपुर ५ विकेटले पराजित


काठमाडौँ, मङ्सिर १  : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमाडौँ गोर्खाजले विजयी सुरुवात गरेको छ ।

सुरुमा ब्याटिङ गरेको जनकपुरले जितको लागि दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । काठमाडौंका लागि बेन चार्ल्सवर्थ ४६ रन बनाउनुभयो भने आकाश त्रिपाठीले ३९ रन जोड्नुभयो ।

जनकपुरका लागि किशोर महतो, अनिल शाह, ललितनारायण राजवंशी, रुपेश सिंह र सञ्जय कृष्णमूर्तिले एकएक विकेट हात पार्नुभयो ।  पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले २० ओभरमा छ विकेट गुमाएर १३० रन बनाएको थियो ।

जनकपुरको लागि आसिफ शेखले सर्वाधिक ५४ रनको योगदान दिनुभयो । उहाँले ४१ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाउनुभयो । यस्तै,  मयन यादवले ३४ तथा लाहिरु समारकूनले २२ रन बनाउनुभयो । लाहिरु मिलन्था सात रनमा आउट हुनुभयो ।

काठमाडौँ गोर्खाजका लागि मिलिन्द कुमारले तीन विकेट लिनुभयो भने सन्तोष यादव, साहब आलम तथा करण केसीले समान एक एक विकेट लिनुभयो ।

एनपिएलको दोस्रो दिन दुई खेल हुँदैछन् । पहिलो खेलमा पोखरा र कर्णालीले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।