11/17/2025, 19:33:36
सोमबार, मङि्सर ०१, २०८२

प्रदर्शन मिति घोषणा गर्दै ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक


काठमाडौं, मङ्सिर १ : सिनेमा ‘द ब्ल्यू लाइट’ को पोस्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारलाई देख्न सकिन्छ । खैरो कलरको कुनै घर वा होटलको पृष्ठभूमिमा मुख्य पाँच कलाकार प्रस्तुत छन् ।

सार्वजनिक पोस्टरमा महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुष्मान देशराज जोशी अटाएका छन् । सवै पात्रमा एउटा समानता देखिन्छ, त्यो हो नैराश्यता । पाँचै जना पात्र निराश देखिएका छन् । फरक यति हो, महेशको हातमा बञ्चरो छ । अरुको हात रित्तो छ ।

सिनेमाका मुख्य पात्रहरू तनावमा देखिए पनि त्यसको कारण के हो, त्यसबारे भने पोस्टर मौन छ । त्यसैले तनावमा मौनता साँधिरहेका सिनेमाका पाँच मुख्य पात्र भनेर भन्न सकिन्छ । बलिराम चौहानको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘द ब्ल्यू लाइट’ पुस १० गतेबाट रिलिजमा आउँदैछ ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको ‘द ब्ल्यू लाइट’ को प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी र बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।

स्काइफल पिक्चर्सको प्रस्तुतीमा निर्माण भएको ‘द ब्ल्यू लाइट’को कार्यकारी निर्मातामा अभिनेत्री बेनिशा हमाल र छायांकार नरेन्द्र मैनाली तथा सह–निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे छन् । सिनेमाको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् । आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको सिनेमामा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक छन् ।