11/17/2025, 19:33:36
सोमबार, मङि्सर ०१, २०८२

नागरिक समाज ‘तेस्रो शक्ति’ र ‘सेतु’ : प्रधानमन्त्री कार्की


काठमाडौँ, मङ्सिर १ : प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनलाई सुनिश्चित गर्न सरकारले ठोस पहल अघि बढाइरहेको बताउँदै यसलाइ सफल बनाउन नागरिक समाजका अगुवा तथा प्रतिनिधिहरूको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ।

नागरिक समाजका अगुवा तथा प्रतिनिधिसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले राजनीतिक दलबीच अविश्वास बढ्दो अवस्थामा नागरिक समाज ‘तेस्रो शक्ति’ र ‘सेतु’ का रूपमा निर्णायक बन्नुपर्ने बताउँदै समाधानमुखी सुझावलाई सरकारले गम्भीरतापूर्वक लिएको जानकारी दिनुभयो।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई संवैधानिक दायित्वका रूपमा व्याख्या गर्दै फागुन २१ को निर्वाचन कुनै राजनीतिक वैकल्पिक निर्णय नभई अनिवार्य राष्ट्रिय कर्तव्य भएको स्पष्ट पार्नुभयो। उहाँले प्रमुख दलहरूको सहभागिता सुनिश्चित गर्न मंसिर १० लाई निर्णायक समयसीमा तोकिएको बताउँदै दलहरूलाई प्रक्रियामा फर्काउन नागरिक समाजको सक्रियता अपरिहार्य भएको उल्लेख गर्नुभयो। साथै निर्वाचनलाई मितव्ययी, पारदर्शी र सुरक्षामुखी बनाउन प्रशासनिक तयारीलाई सुदृढ गरिएको पनि प्रधानमन्त्रीको भनाइ थियो।

युवापुस्तामा बढ्दो असन्तुष्टिलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनलाई ‘कानुनी विषय’ मात्र नभई राजनीतिक असन्तुष्टिको गहिरो संकेतका रूपमा बुझिनुपर्ने बताउनुभयो।

युवालाई लोकतान्त्रिक प्रक्रियामा आकर्षित गर्न निर्वाचन–सम्बन्धी सुधार, संरचनात्मक परिमार्जन र सहभागितामूलक नीति अघि सारिएको उल्लेख गर्दै उहाँले द्वेषपूर्ण अभिव्यक्ति, उत्तेजनात्मक गतिविधि र निर्वाचन अवरोधकहरूप्रति राज्य शून्य सहनशीलताबाट अघि बढ्ने आश्वासन दिनुभयो। निर्वाचन सुरक्षाका लागि ‘हट–स्पट’ नक्साङ्कनदेखि गुप्तचर परिचालनसम्मका तयारी तीव्र पारिएको पनि जानकारी दिइयो।

लोकतन्त्रको स्थायित्वमा नागरिक समाजको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले युवालाई निर्वाचन तथा लोकतान्त्रिक शासनको महत्त्व बुझाउने ‘सेतु’को भूमिकामा नागरिक समाज अझ सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो। संवेदनशील राजनीतिक मोडमा गरिएको यस संवादले आगामी निर्वाचन र लोकतान्त्रिक यात्रामा नागरिक साझेदारीलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।

नागरिक समाजका नेताहरूलाई सम्बोधनका क्रममा समाननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको मन्तव्यका मुख्य बुँदाहरू :

देशको वर्तमान राजनीतिक अवस्थालाई निकास दिने र आसन्न निर्वाचनलाई सुनिश्चित गर्ने यस निर्णायक घडीमा यहाँहरूसँग प्रत्यक्ष भेटघाट गर्न पाउनु मेरा लागि ठूलो कुरा हो। मलाई थाहा छ, जब राजनीतिक दलहरूबीच अविश्वास बढ्छ, तब निष्पक्ष आवाज र समाजलाई जोड्ने सेतुको रूपमा यहाँहरूको भूमिका असाध्यै महत्वपूर्ण हुन्छ। यो छलफलमा यहाँहरूले राख्नुभएका समाधानमुखी धारणाहरूलाई हामीले गम्भीरतापूर्वक लिएका छौं।

हामीले अहिले मुख्यतः तीनवटा मोर्चामा सङ्घर्ष गरिरहेका छौं– संवैधानिक अडान, प्रशासनिक तयारी र बढ्दो युवा असन्तुष्टि ।

यी मोर्चामा सरकारको अडान र यहाँहरूबाट अपेक्षा गरिएका भूमिका यस प्रकार छन् :

१. संवैधानिक अनिवार्यता र राष्ट्रिय अडानको माग

फागुन २१ को निर्वाचन केवल वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा होइन। यो संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व हो। केही पक्षले सिर्जना गरेका अन्योललाई चिर्दै, नागरिक समाजले निर्वाचनको वैधानिक आधार स्थापित गर्न र लोकतन्त्रलाई सही मार्गमा फर्काउन दृढतापूर्वक सरकारको साथमा उभिन अनुरोध गर्दछु।

२. निर्वाचनको सुनिश्चितताका लागि मंसिर १० को डेडलाइन

संवैधानिक अडानपछि आउने पहिलो कार्यगत चुनौती हो— प्रमुख दलहरूको सहभागिता। निर्वाचनको विश्वसनीयताका लागि प्रमुख दलहरूलाई मंसिर १० गतेभित्र निर्वाचन आयोगमा अनिवार्य दर्ता गराउनु हाम्रो पहिलो र अनिवार्य सर्त हो। यो समयसीमा निर्वाचन सुनिश्चितताको प्रमुख सूचक हो। सरकार ट्र्याक–टु संवाद मार्फत विभिन्न दलहरुसँग विश्वासको वातावरण बनाउने काम गरिरहेको छ। तर नागरिक समाजले आफ्नो प्रभाव प्रयोग गरी सबै दलहरूलाई प्रक्रियामा फर्काउन सहयोगका निम्ति अपिल गर्दछु।

३. प्रशासनिक तयारी : आयोगको सक्रियता र मितव्ययिता

हामी राजनीतिक जोखिम व्यवस्थापनसँगै प्रशासनिक तयारीमा पनि दृढ छौं। निर्वाचन आयोगको कार्यक्षमता बढाउन हामी निर्वाचन आयोगको नेतृत्वसँग निरन्तर संवादमा छौं। हाम्रो प्राथमिकता ‘सुरक्षा र सुशासन’ हो। यसै क्रममा, निर्वाचनलाई कम खर्चिलो र मितव्ययी बनाउन, विगतको भद्दा र अनावश्यक कर्मचारी भर्नासम्बन्धी बदनामी रोक्न कडाइका साथ निगरानी गरिनेछ।

४. युवाको असन्तुष्टि र प्रणालीगत जोखिमको सम्बोधन

जेन–जी आन्दोलनलाई हामीले केवल ‘कानुन व्यवस्थाको विषय’ मात्र मानेका छैनौं। यो व्यवस्थाप्रतिको गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हो, जसको कारण कतिपय युवा पुस्ता नयाँ व्यवस्थाको भाष्यतर्फ आकर्षित भइरहेको जोखिम हामीले देखेका छौं। उनीहरूको मन जित्न र निर्वाचनमा युवा सहभागिता बढाउनका लागि हामी निर्वाचन सम्बन्धी अध्यादेश र अन्य उपायमार्फत संरचनात्मक सुधारका कदमहरू चाल्दै छौं। यसबाट उनीहरूको असन्तुष्टिको राजनीतिक सम्बोधन हुनेछ।

५. द्वेषपूर्ण अभिव्यक्तिमाथि शून्य सहनशीलता

युवा असन्तुष्टिको व्यवस्थापनसँगै, निर्वाचनको वातावरण ध्रुवीकरण र हिंसाले बिथोल्ने जोखिमतर्फ पनि हामी सचेत छौँ। निर्वाचनका दौरान द्वेषपूर्ण र भड्काउपूर्ण अभिव्यक्ति प्रयोग गर्ने जो–कोहीलाई पनि सम्बन्धित सक्षम निकायहरुले तत्काल र सार्वजनिक कारबाही गर्नेछन्। शान्तिपूर्ण मतदान सुनिश्चित गर्न ‘हट–स्पट’ नक्साङ्कन र गुप्तचर परिचालन बढाइएको छ र नागरिक खबरदारी झनै आवश्यक छ।

६. प्रणालीगत शिक्षा र लोकतन्त्रको स्थायित्व

यहाँहरूले युवा जागरणलाई सही दिशा दिने कुरा उठाउनुभएको छ, जुन अत्यन्तै सकारात्मक छ। नागरिक समाजले अब ‘सेतु’ को भूमिका खेल्दै युवालाई उनीहरूले बुझ्ने भाषामा राजनीतिक र निर्वाचन शिक्षा प्रदान गर्नुपर्छ, ताकि उनीहरू लोकतान्त्रिक शासनका सिद्धान्त, प्रक्रिया र प्रणालीगत फाइदाहरूप्रति विश्वस्त बनून्। लोकतन्त्रको स्थायित्वका लागि यो प्रणालीगत शिक्षा हाम्रो सबैभन्दा ठूलो प्रतिरक्षा कवच हो।

७. लोकतन्त्रको रक्षाका लागि नागरिक साझेदारी

यस निर्वाचनको सफलतामा मुलुकको लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छ। यदि हामी यसपटक असफल हुन्छौं भने देश लामो राजनीतिक अन्योल र संवैधानिक सङ्कटमा धकेलिने छ। नागरिक समाजका नेताहरूको रूपमा, तपाईंहरूले सरकार र दलहरूबीच विश्वासको वातावरण बनाउन र आम जनतालाई निर्वाचनमा सहभागी हुन प्रेरित गर्नका लागि ‘तेस्रो शक्ति’ को रूपमा सक्रिय र निर्णायक भूमिका खेल्नुहुनेछ भन्ने हामीलाई पूर्ण विश्वास छ।

अन्त्यमा, देशको यो संवेदनशील मोडमा यहाँहरूले यस बैठकमा उपस्थित भई आफ्नो अमूल्य समय र सुझाव दिनुभएकोमा म पुनः धन्यवाद दिन चाहन्छु।

धन्यवाद
२०८२ मंसिर १ गते सोमबार
सिंहदरबार, काठमाडौँ