11/17/2025, 11:04:13
सोमबार, मङि्सर ०१, २०८२

आन्तरिक बजारमा कफीको खपत बढ्दो


काठमाडौँ, मङ्सिर १ : आन्तरिक बजारमा कफीको खपत बढ्दै गएको छ । कफीको आयातनिर्यातको आँकडाले त्यस्तो देखाएको छ । दिनप्रतिदिन कफीको माग बढ्दै गएपछि आन्तरिक उत्पादनले माग धान्न नसक्दा बाहिरी मुलुकबाट ठुलो परिणाममा आयात हुने गरेको छ । मुलुकमा उत्पादित कफीको ७० देखि ८० प्रतिशत आन्तरिक बजारमा खपत हुने र बाँकी बाहिरी मलुकमा निर्यात हुने गर्छ ।

मुलुकबाट वार्षिक ११ करोड रुपियाँको कफी निर्यात हुँदा आयात भने १४ करोड रुपियाँको हुने गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा ११ करोड ४३ लाख ७० हजार रुपियाँ बराबरको ६४ मेट्रिक टन कफी निर्यात हुँदा १४ करोड ४१ लाख रुपियाँ बराबरको २०३ मेट्रिक टन आयात भएको छ ।

यस्तै आव २०८०/८१ मा १४ करोड ९२ लाख ५१ हजार रुपियाँ बराबरको ८८ मेट्रिक टन निर्यात भएकामा ४१ करोड ९८ लाख रुपियाँ बराबरको ४४३ मेट्रिक टन आयात भएको छ । आव २०७९/८० मा १३ करोड ४४ लाख नौ हजार रुपियाँ बराबरको ७७ मेट्रिक टन निर्यात र ३२ करोड ५८ लाख ६६ हजार रुपियाँ बराबरको ४५० मेट्रिक टन आयात भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा स्वाद गुणस्तरका हिसाबले अन्य राष्ट्रको भन्दा नेपाली कफीले बढी मूल्य प्राप्त गर्दै आएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

मुलुकमा कफीको उत्पादन पनि बढ्दै गएको छ । बोर्डका अनुसार आव २०८१/८२ पाँच हजार ५०१ हेक्टर क्षेत्रफलमा ६४१ मेट्रिक टन, आव २०८०/८१ मा चार हजार ३०९ हेक्टर क्षेत्रफलमा ५०१ मेट्रिक टन, आव २०७९/८० मा तीन हजार ६५५ हेक्टर क्षेत्रफलमा ३९४ मेट्रिक टन र २०७८/७९ मा तीन हजार ३४३ हेक्टर क्षेत्रफलमा ३५४ मेट्रिक टन कफी उत्पादन भएको छ ।

कफीको उत्पादनसँगै खेतियोग्य क्षेत्रफलसमेत बढ्दै गएको देखाउँछ । बोर्डका प्रवक्ता दीपक खनालका अनुसार कफीको उत्पादन बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । ५० रोपनी जमिनमा चक्ला रोपण कार्यक्रम सञ्चालन गरिएको र यसमा किसानलाई ५० प्रतिशतसम्म अनुदान दिइएको छ । बिरुवा उत्पादन गर्न नर्सरी बनाउने किसानसमेत ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

यस्तै तीन वर्षदेखि राजमार्गकेन्द्रित १० रोपनी जमिनमा नमुना कफी खेती सञ्चालन गरिएको छ । हाल ४५ जिल्लामा कफी खेती गरिँदै आएको छ । नेपालमा उत्पादित कफी जापान, कोरिया, स्विट्जरल्यान्ड, भारत लगायतका देशमा निर्यात हुने गरेको छ ।

यसैबिच राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कच्चा कफीको न्यूनतम मूल्य गत वर्षकै निरन्तरता दिएको छ । जस अनुसार यस वर्षका लागि फ्रेस चेरी कफी ग्रेड ‘ए’ को प्रतिकेजी १०५ र ग्रेड ‘बी’ को प्रतिकेजी ९५ रुपियाँ निर्धारण गरिएको छ ।

यस्तै पार्चमेन्ट कफी ग्रेड ‘ए’ प्रतिकेजी ५३५ र ग्रेड ‘बी’ ४८२ रुपियाँ, ड्राई चेरी कफी ग्रेड ‘ए’ प्रतिकेजी २८० रुपियाँ र ग्रेड ‘बी’ को प्रतिकेजी २४७ रुपियाँ निर्धारण गरिएको छ ।

राष्ट्रिय कफी दिवस मनाइँदै

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सोमबार विभिन्न कार्यक्रम गरेर २१ औँ राष्ट्रिय कफी दिवस मनाउन लागेको छ । ‘कफी खेती गरौँ, स्वरोजगार बनौँ’ भन्ने नारासाथ बोर्डले दिवस मनाउन लागेको हो ।

कफीको प्रवर्धन र बजार विस्तार गर्ने उद्देश्यसहित बोर्डले प्रत्येक वर्ष मङ्सिर १ गते कफी दिवस मनाउँदै आएको छ ।