11/11/2025, 13:09:19
मङ्गलबार, कार्तिक २५, २०८२

गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गर्ने चार जना पक्राउ


राजविराज, कात्तिक २५ : सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गरी आपराधिक उपद्रव गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ परेकाहरुमा राजविराज नगरपालिका–४ का २४ वर्षीय उदय ठाकुर, सोही स्थानका २४ वर्षीय बिनित चौहान, विष्णुपुर गाउँपालिका–६ का ५० वर्षीय प्रमेश्वर यादव र २५ वर्षीय रमन यादव रहेका छन् ।

यही कात्तिक २३ गते दिउँसो करिब १२ः१५ बजे अस्पतालको एनआइसीयू कक्षमा राखिएको नवजात शिशुको उपचारका क्रममा सिलिङको बत्तीमा सर्ट भएर आगलागी हुँदा बल्ब खसेर म्याटमा परेपछि शिशु घाइते भएका थिए । घाइते शिशुलाई थप उपचारका लागि विराटनगरस्थित सिटी अस्पताल पठाइएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाइएको छ ।

उक्त घटनापछि शिशुका आफन्त र अन्य व्यक्तिहरू आक्रोशित भई अस्पताल परिसरमा नाराबाजी, होहल्ला, चिकित्सकमाथि गालीगलौज र हातपातसमेत गरेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरी टोली पुग्दा भिड अझै आक्रोशित भई अस्पतालमा तोडफोड र आगजनी गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार पक्राउ परेका चार जनामाथि आपराधिक उपद्रव तथा सार्वजनिक सम्पत्ति तोडफोडसम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

– धीरेन्द्रप्रसाद साह