11/17/2025, 11:24:50
सोमबार, मङि्सर ०१, २०८२

इमेज सहकारीका पीडितहरु पुनः आन्दोलित


बागलुङ (गलकोट), मङ्सिर १ : बागलुङको इमेज सहकारीका पीडितहरु पुनः आन्दोलित भएका छन् । ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका देवकुमार नेपाली संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लि. मा रकम जम्मा गरी फिर्ता नपाएका पीडितहरु आन्दोलित भएका हुन् ।

इमेजपीडित संघर्ष समितिको आह्वानमा उनीहरुले आइतबार बागलुङ बजारमा नाराबाजीसहित प्रदर्शन गरेका छन् । इमेज सहकारीपीडित र देवकुमार नेपालीबिच बचत फिर्ता गर्ने सहमति हुनेक्रममा बिचमा सहकारी माफिया र लुटेराको प्रवेश गरी बचतकर्तालाई दुःख दिने काम भएकाले उनीहरुको भण्डफोर गर्नका लागि आन्दोलित भएको इमेजपीडित संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताउनुभयो ।

देवकुमार नेपालीले आफ्नो चलन अचल सम्पत्तिबाट बचतकर्ताको रकम फिर्ता गर्छु भनेका थिए, घर जग्गा कसै न कसैले त लिनप¥यो भन्ने कुरा भयो । त्यही बेलामा बैंकले लिलामको सूचना निकाल्यो” कार्कीले भन्नुभयो “ रायडाँडाका रामबहादुर केसी र उनकी श्रीमती गोमादेवी केसीले अर्को एक जना आफन्तसँग मिलेर लिलाम सकार्ने र बचतकर्ताको पैसा आफुहरुले फिर्ता गर्नेगरी हामीहरुको समेत उपस्थितिमा देवकुमारसँग कागज गरेका थिए, अहिले बचतकर्तालाई रकम फिर्ता गर्ने बेलामा भागेर अमेरिका पुगेका छन् ।

झण्डै ७० करोडको सम्पत्ति २२ करोडमा सकारेर बाँकी रकम पीडितलाई फिर्ता दिने गरी सम्झौताको कागज गरे पनि अहिले रकम नदिइ दुःख दिएको कार्कीको भनाइ छ । बागलुङमा एक हजार पाँच सय ७४ जना पीडितले उजुरी गरेकोमा एक हजार चार सय ६९ जनाले मिलापत्र गरिसकेको तर रकम फिर्ता नपाएको उहाँले बताउनभुयो । भागेर अमेरिका पुगेपछि मैले बैंकबाट सकारेको हो मैले किन तिर्ने भन्ने गरेको र उल्टो पीडितले बन्द गराएको घरको क्षतिपूर्ति माग गर्दै पीडितलाई मुद्दा लगाउने काम भएको उहाँले बताउनुभयो । माफियाले दिएको दिएको पीडाका कारण अहिलेसम्म चार जना बचतकर्ताहरुले ज्यान गुमाउनु परेको उहाँले बताउनुभयो ।

उक्त अवसरमा पुगेका नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले ठुला व्यक्तिहरु नै सहकारी ठगीमा संलग्न भएको भन्दै कुनै पनि शर्तमा बचतकर्ताको रकम फिर्ता हुनुपर्ने बताउनुभयो । उहाँले सहकारी पीडितको आन्दोलनमा आफ्नो ऐक्यवद्धता समेत जनाउनुभएको थियो । पीडितहरुले नाराबाजीसहित बागलुङ बजार परिक्रमा गरेका थिए ।

सहकारीपीडित बचतकर्ताको रकम फिर्ता गर, सहकारी लुटेरा मुर्दावाद, सहकारी माफिया मुर्दावाद, सहकारीको सम्पत्ति खाने माफियाहरु होसियार, घुसखोरी कर्मचारी मुर्दावाद लगायतका नारा लगाउँदै उनीहरुले बागलुङ बजारको परिक्रमा गरेका थिए ।

– नवराज नेपाली