काठमाडौँ, मङ्सिर १ गते । पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा काममा खटाउने भएको छ । यस वर्षको बाला चतुर्दशी मेला पर्वलाई विगत वर्षमा भन्दा व्यवस्थित बनाउन कुनै पनि कर्मचारीलाई बिदा नदिई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने कोषले जनाएको छ ।
बाला चतुर्दशी मेलालाई थप भन्दा व्यवस्थित बनाउन यहाँका कर्मचारीलाई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने निर्णय भएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिनुभयो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको बाला चतुर्दशी मेला पर्व तयारी बैठकले उक्त निर्णय गरेको हो । यही मङ्सिर २ गते मङ्गलबार बिहानदेखि मङ्सिर ३ गते बुधबार शतबीज छरेर मेला सम्पन्न नभएसम्म कर्मचारीलाई पशुपति क्षेत्रका विभिन्न स्थानमा मेला व्यवस्थित बनाउन खटाउन लागिएको उहाँले बताउनुभयो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहिद भएकाको नाममा कोषले पशुपति क्षेत्रमा बत्ती बाल्ने पनि बैठकले निर्णय गरेको सदस्यसचिव जोशीले उल्लेख गर्नुभयो । बत्ती बाल्न जेनजी सहिदको न्वारानको नाम र गोत्र उपलब्ध गराउन पनि कोषले सबैमा अनुरोध गरेको छ । उहाँका अनुसार जेनजी सहिद परिवार आफैँ रातभर बसेर बत्ती बाल्न चाहेमा रुद्रगारेश्वर क्षेत्रमा विशेष व्यवस्था गरिएको छ ।
पशुपतिनाथ मन्दिर प्राङ्गण परिसरमा बत्ती बालेर रात बस्न नदिने निर्णय पनि भएको सदस्यसचिव जोशीले बताउनुभयो । पशुपतिनाथको मूल मन्दिर परिसरभित्र भक्तजनको घुइँचो हुने भएकाले कुनै पनि किसिमका निःशुल्क सामग्री वितरण गर्नेलाई स्थान दिइने छैन ।
बत्ती बाली बस्ने भक्तजनका लागि कोर क्षेत्र, कैलाश, भकुण्टोल, वनकाली, हंसमण्डप, चारशिवालय, अन्य खाली स्थानहरूमा पाल, सायर टाँग्ने व्यवस्थाका लागि नेपाली सेनालाई अनुरोध गरिएको कोषले जनाएको छ । नपुग भएका अन्य स्थानमा कोषले पाल, सायरको व्यवस्था गर्नेछ ।
पशुपति क्षेत्रको कोर क्षेत्रस्थित वत्सलेश्वरी डबलीमा शथ्या, चिकित्सक, एम्बुलेन्ससहितको स्वास्थ्य शिविर राखी सेवा प्रदान गर्न नेपाली सेनालाई अनुरोध गरिएको छ । अन्य संस्थाले स्वास्थ्य शिविर राख्न स्थान माग गरेमा कोर क्षेत्र बाहिर राख्न दिने निर्णय भएको निमित्त सदस्यसचिव जोशीले बताउनुभयो ।
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।
सत्ययुगमा वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती यो पर्वसँग जोडिएको छ ।
यस्तो महत्त्व बोकेको मेलाका लागि कोषले पशुपति क्षेत्रमा पर्याप्त मात्रामा धारा र शौचालयको व्यवस्था गर्नेछ । पशुपति क्षेत्रका भष्मेश्वर, बोडेपाटी, बाहिरी पश्चिम ढोकाअघि र राममन्दिरमा धुनी जगाउने व्यवस्था गरिएको जनाइएको छ ।
बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ । यस्ता पदार्थ बिक्री वितरण गरे कानुनी कारबाही गरिने निर्णय पनि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले गरेको छ ।
दिवङ्गत पितृका नाममा बत्ती बाल्न आउनेका लागि मङ्गलबार दिउँसो २ः०० बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नामदर्ता गरेर बत्ती बाल्नका लागि कोषले रु दुई हजार १०० का दरले शुल्क लिएको छ । मङ्गलबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आ–आफ्ना बालबच्चालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ ।
बाला चतुर्दशीका अवसरमा पशुपतिमा लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । पशुपतिनाथको मेलाका लागि काठमाडौँ महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ । कैलाश चौरमा महिला र पुरुषका छुट्टाछुट्टै निःशुल्क शौचालयको व्यवस्था गर्न लागिएको छ । मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई अनुरोध गरिएको छ ।
मेला अवधिभर गौशालाबाट भुवनेश्वरी मन्दिरअघिसम्म मात्र पसल राख्न दिइने निर्णय भएको सदस्यसचिव जोशीको भनाइ छ । सुरक्षा निकायको सहयोग लिई कोषले पसलको व्यवस्थापन गर्नेछ । कैलाश चौरमा पसल राख्न नदिने, पाल टाँगेर बत्ती बाल्नका लागि ठाउँ उपलब्ध गराइने छ । कैलाश चौरका कुनाकुनामा भने निःशुल्क शौचालयको व्यवस्था गर्न लागिएको कोषले जनाएको छ ।
मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, पाल सायर व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी भइरहेको कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिनुभयो । मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुली बत्ती व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवी परिचालनलगायत तयारी पनि अन्तिम चरणमा पुगेको कोषले जनाएको छ ।
मङ्सिर ३ गते बुधबार शतबीज छर्ने दिन पशुपतिनाथ र वासुकीनाथ मन्दिरमा विशेष पूजा नहुने भएको छ । शतबीज छर्ने भक्तजनको घुइँचो हुने भएकाले यस्तो निर्णय गराएको जानकारी पनि उहाँले दिनुभयो । बाला चतुर्दशी पर्वमा स्वयंसेवा गर्न चाहने संस्थालाई कोषको निर्देशनअनुसार मात्र गर्न दिइने छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










