11/10/2025, 17:58:58
सोमबार, कार्तिक २४, २०८२

मुख्यमन्त्री नियुक्तिको विरोधमा जनकपुरधाम तनावग्रस्त


जनकपुरधाम, कात्तिक २४ : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पदभार ग्रहण गर्ने कार्यक्रम सार्वजनिक भएसँगै जनकपुरधाम तनावग्रस्त बनेको छ ।

मुख्यमन्त्री नियुिक्तको विरोधमा उत्रेका विपक्षी राजनीतिक दलसम्बद्ध कार्यकर्ताले यहाँस्थित विभिन्न मन्त्रालयका फर्निचर लगायतका सामग्री तोडफोड गरेका छन् । उनीहरूले प्रदेश अन्तर्गतका मन्त्रालयहरूमा तालाबन्दी गरेका छन् । यसैगरी बजारका विभिन्न ठाउँमा टायर बालेर विरोध प्रदर्शनमा उत्रेका विपक्षी नेता तथा कार्यकर्ताहरू प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र नवनियुक्त मुख्यमन्त्री यादवको विरोधमा नाराबाजी गरिरहेका छन् ।

सोमबार बिहानै प्रदेश प्रमुख भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको खबर सार्वजनिक भएसँगै जनकपुरधाममा विरोध प्रदर्शन भएको हो ।

यसैबीच लोसपा प्रदेश संसदीय दलका नेता जेनुल राइनले मुख्यमन्त्री नियुक्तिमा प्रदेश प्रमुख भण्डारीको भूमिका शङ्कास्पद भएको आरोप लगाउँदै मुख्यमन्त्री नियुक्तिको राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने बताउनुभयो । यता, जिल्ला प्रशासन कार्यालय धनुषाले संयमित भई विरोधका कार्यक्रम गर्न आग्रह गरिहेको, तनावको वातावरण अन्त्य गर्न अधिकतम प्रयास गरिरहेको र मानवीय तथा भौतिक क्षति हुन नदिन संयम अपनाइरहेको स्पष्ट गरेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..