दमौली (तनहुँ), २ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं तनहुँ क्षेत्र नम्बर १ का सांसद डा स्वर्णिम वाग्लेले न्यायालयले गर्ने हरेक फैसलालाई पार्टीले सधैं सम्मान गर्दै आएको बताउनुभएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियान न्यायपालिकालाई प्रभावित पार्न नभएको स्पष्ट पार्नुभयो । उहाँले हस्ताक्षर अभियान सञ्चालन गर्दैमा सभापति रवि लामिछाने छुट्ने होइन भन्दै न्यायपालिकाले गर्ने कार्यसम्पादनमा दखल नदिने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “न्यायपालिकाले गर्ने फैसला हामी मान्दै आएका छौँ र मान्नेछौँ ।”
उपसभापति वाग्लेले पार्टी सभापतिमाथि राजनीतिकरण भएको आफूहरुको बुझाइ रहेको उल्लेख गर्नुभयो । पार्टीप्रति आम जनताको आकर्षण बढेको दाबी गर्दै उहाँले सबैभन्दा ठूलो अदालत भनेको जनअदालत भएको बताउनुभयो । आफूहरु २०८४ को चुनावको तयारीमा रहेको बताउँदै त्यसलाई पार्टीप्रतिको आकर्षणले बलियो बनाएको उहाँले जिकिर गर्नुभयो ।