बेइजिङ,३१ असार : चीनमा सन् २०२५ को पहिलो छ महिनामा ५६ लाख २० हजार नयाँ उर्जा सवारी (हरित उर्जा आधारित सवारी) दर्ता भएका छन्, जुन अहिलेसम्मकै सबैभन्दा बढी हो । चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.८६ प्रतिशतले वृद्धि भएको हो ।
यो संख्या चीनको इतिहासमा कुनै पनि आधा वर्षको अवधिमा भएको सबैभन्दा धेरै हरित सवारी दर्ताको रेकर्ड हो । उक्त अवधिमा चीनमा दर्ता भएका कुल सवारीमध्ये ४४.९७ प्रतिशत हरित उर्जा सवारी थिए, जसले चीनको यातायात प्रणाली स्वच्छ उर्जा प्रणालीमा तीव्ररूपमा रूपान्तरण भइरहेको संकेत गर्छ ।
सन् २०२५ को मध्यसम्म, चीनको सडकमा चल्ने कुल हरित उर्जा सवारीको संख्या तीन करोड ६८ लाख ९० हजार पुगेको छ, जुन चीनमा चलिरहेका सबै प्रकारका सवारीमध्ये १०.२७ प्रतिशत हो । यीमध्ये ब्याट्रीबाट चल्ने सवारी सबैभन्दा अगाडि छन् । हाल चीनमा झन्डै दुई करोड ५५ लाख ४० हजार यस्ता सवारी छन्, जुन कुल हरित सवारीको ६९.२३ प्रतिशत हो ।
गत दशकमा चीनको हरित सवारी क्षेत्रमा तीव्र वृद्धि देखिएको छ । सन् २०१४ मा जम्मा एक लाख २० हजार हरित सवारीमात्र सञ्चालनमा थिए । सन् २०२२ को मध्यसम्म यो संख्या एक करोड नाघ्यो । सन् २०२३ को अन्त्यसम्म यो संख्या दोब्बर भयो र २०२४ को अन्त्यसम्म तीन करोड पार ग¥यो ।
यो तीव्र बिस्तारले चीनको हरित यातायात प्रणालीतर्फको दृढ प्रतिबद्धता झल्काउँछ, जसमा प्रविधिको प्रगति, चार्ज गर्ने पूर्वाधारको विस्तार र जनताको स्वच्छ सवारीप्रतिको बढ्दो माग प्रमुख कारण बनेका छन् ।
राष्ट्रिय उर्जा प्रशासनका अनुसार, सन् २०२५ को चैतसम्म चीनभर चार्ज गर्ने पूर्वाधारको संख्या ४७.६ प्रतिशतले वृद्धि भई झन्डै एक करोड ३७ लाख ५० हजार पुगेको छ । यसमध्ये करिब ३९ लाख सार्वजनिक चार्जिङ केन्द्रहरू छन् भने ९८ लाख ५० हजार व्यक्तिगत चार्जिङ उपकरणहरू छन् । यी संरचनाहरू चीनको तीव्ररूपमा बढ्दो हरित सवारी क्षेत्रलाई आवश्यक पूर्वाधार आपूर्ति गरिरहेका छन् ।