06/29/2025, 01:21:09

चीनमा फाइभ जी बेस स्टेसनको संख्या ४५ लाख, प्रयोगकर्ता १.१ अर्ब


१४ असार, काठमाडौं : चिनियाँ मोबाइल अपरेटरहरूले सन् २०२५ को पहिलो पाँच महिनामै २ लाख ३५ हजार फाइभ जी बेस स्टेसन सञ्चालनमा ल्याएका छन् । यससँगै चीनमा मोबाइल डेटाको उन्नत प्रविधि, फाइभ जीका बेस स्टेसनको संख्या करिब ४५ लाख पुगेको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयको तथ्यांकले देखाएको छ ।

चिनियाँ दूरसञ्चार सेवा प्रदायकहरूले सन् २०२४ को अन्त्यसम्ममा ६० लाखभन्दा धेरै एलटीई बेस स्टेसनहरू स्थापना गरेका थिए । हाल फाइभ जीका बेस स्टेसनहरूको संख्या चीनमा कुल बेस स्टेसनको ३५.३ प्रतिशत पुगिसकेको मोबाइल वर्ल्ड लाइभका लागि एसियाका सम्पादक जोसेफ वारिङले जनाएका छन् ।

ग्राहक संख्याका आधारमा विश्वको सबैभन्दा ठूलो मोबाइल अपरेटर चाइना मोबाइलले यस वर्ष ३ लाख ४० हजारवटा फाइभ जी बेस स्टेसन थप्ने योजना बनाएको छ । यसबाट फाइभ जी बेस स्टेसनको संख्या २८ लाख पुग्नेछ ।

गत मार्चसम्ममा चीनमा फाइभ जीका प्रयोगकर्ताको संख्या करिब १.१ अर्ब पुगेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमास (जनवरी-मार्च) मा गत वर्षको यही अवधिको तुलनामा चाइना मोबाइलका मात्रै ९ करोड ग्राहक थपिएका थिए । योसँगै चाइना मोबाइलका फाइभ जी प्रयोगकर्ताको संख्या ५७ करोड ८० लाख पुगेको छ ।

विश्वव्यापी फाइभ जी बेस स्टेसनको संख्या करिब १ करोड अनुमान गरिएको छ । भारतमा फेब्रुअरीको अन्त्यसम्ममा करिब ४ लाख ७० हजार फाइभ जी बेस स्टेसन सञ्चालनमा रहेको त्यहाँको सञ्चार मन्त्रालयले जनाएको छ । सन् २०२४ को अन्त्यसम्ममा भारतका फाइभ जी ग्राहकहरूको संख्या २९ करोड पुगेको थियो ।

रिलायन्स जियो र भारती एयरटेलले सन् २०२२ को अक्टोबरमा फाइभ जी सेवा सुरु गरेका थिए । चिनियाँ अपरेटरहरूले भने सन् २०१९ मै फाइभ जी सेवाहरू सञ्चालनमा ल्याएका थिए ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ