04/03/2025, 02:59:33

थारु, मुस्लिमलगायत समुदायको आरक्षणको माग सम्बोधन हुन्छ : प्रधानमन्त्री


काठमाडौँ, ७ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय निजामती सेवा ऐन जारी भएपश्चात् थारु, मुस्लिमलगायतका अन्य पक्षको आरक्षणका विषय सम्बोधन हुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा प्रश्नकर्ता सांसद बिनाकुमारी थनैतले थारु समुदायलाई छुट्टै वर्गका रुपमा आरक्षणको व्यवस्था नगरिएको र निजामती सेवा ऐन जारी गर्न भइरहेको ढिलाइबारे प्रश्न गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले सांसद थनैतको प्रश्नको जवाफ दिँदै सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० पारित भएर ऐन जारी भएपश्चात् थारु, मुस्लिम लगायतका अन्य पक्षको आरक्षण लगायतका विषय सम्बोधन हुने बताउनुभयो ।

“उक्त विधेयक माथि अहिले संसद्को राज्य व्यवस्था समितिमा दफावार छलफल भइरहेको छ । निजामती सेवा ऐनमासमेत थारु समुदायलाई आदिवासी समुदायमा राखी आरक्षणको अवसर प्रदान गरिएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । वर्तमान सरकार गठन भएपश्चात् मन्त्रिपरिषद्बाट विभिन्न सार्वजनिक पदमा नियुक्ति गर्ने क्रममा समावेशी सिद्धान्तलाई अवलम्बन गरिएको उहाँले सांसदहरुलाई जानकारी दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ