काठमाडौँ, २० फागुनः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि जापानी राजदूत मायदा तोरूले शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आज भएको सो भेटमा उहाँहरूबीच द्विपक्षीयसम्बन्ध, आपसी हित र सहकार्यलगायत बारेमा विचारविमर्श भएको थियो ।
नेपाल–जापानसम्बन्ध निकै पुरानो र घनिष्ट रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप मजबुत र प्रगाढ हुने र त्यसमा राजदूत मायदाको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो । नेपालको सङ्घीय संसद्मा नेपाल–जापान संसदीय मैत्री समूह गठन गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले संसदीय मैत्री समूहले दुई देशबीचको संसदीय सम्बन्ध, अनुभव आदानप्रदान र भ्रमण आदानप्रदान गर्न सहज हुने बताउनुभयो ।
सो अवसरमा राजदूतले मायदाले जापान–नेपालसम्बन्धलाई थप प्रगाढ बनाउन आफू निरन्तर लाग्ने बताउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।