काठमाडौँ, १८ माघ : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाका सबै बैठकमा उपस्थित भई राष्ट्रियसभाप्रतिको जनअपेक्षालाई अझ उच्च तहमा पुर्याउन सबै तहबाट अहम् भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रिय सभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनको प्रारम्भमा सदस्यहरुलाई स्वागत गर्दै अध्यक्ष दाहालले सभा र समितिका कामकारबाहीलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्न विगतमा जस्तै स्वअनुशासित र स्वनियमनमा आधारित भई सुझबुझपूर्ण ढङ्गले आफूलाई क्रियाशील तुल्याउन आग्रह गरे ।
अध्यक्ष दाहालले भने, ‘यस सभालाई अझ उचाइमा पुर्याउन अहम् भूमिका निर्वाह हुनेछ भन्ने आशा र विश्वास लिएको छु ।‘ उनले राष्ट्रियसभामा हालसम्म दर्ता भएका ६५ विधेयकमध्ये ३४ विधेयक प्रमाणीकरण भइसकेका, १२ विधेयक सरकारले फिर्ता लिएको, पाँच विधेयक निष्क्रिय भएका र सभामा विचाराधीन १४ विधेयकमध्ये सात विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइएको जानकारी दिए ।
‘तीन विधेयक यसै अधिवेशनमा दर्ता भएका, तीन विधेयक विधायन व्यवस्थापन समितिले पारित गरी सभामा प्रतिवेदन पेस गर्ने अवस्थामा रहेका, एउटा विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफलको करिब अन्तिम चरणमा रहेको छ,’ अध्यक्ष दाहालले भने ।
सोह्रौँ अधिवेशनको अन्त्यपश्चात् विधायन व्यवस्थापन समितिका ३८ बैठक सम्पन्न भएका तथा समितिले मिडिया काउन्सिल विधेयक, २०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ पारित गरी प्रतिवेदन पेस गरिसकेको छ भने तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को प्रतिवेदन समितिबाट पारित भई सभामा पेस गर्ने तयारी छ । साथै नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ उपर दफावार छलफल भइरहेको छ ।