शुक्रबार, पुष १२, २०८१

नीजि स्वार्थलाई हटाउने हो भने कम्युनिष्ट पार्टी एकताबद्ध हुन समय लाग्दैन


२४ कात्तिक, काठमाडौं । जनताको सर्वोत्तम हितलाई केन्द्रमा राखेर ‘लेनिन’ले अगाडि सार्नुभएको विचारलाई नेपाली विशेषताअनुसार विकास गर्नुपर्नेमा वामपन्थी नेताहरूले जोड दिएका छन् ।

लेनिन स्मृति शतवार्षिकी मूल आयोजक समितिले आज यहाँ आयोजना गरेको ‘अक्टोबर क्रान्ति र लेनिन’ विषयक विचार गोष्ठीमा नेताहरूले कम्युनिस्ट आन्दोलनका शीर्ष नेता भीआई लेनिनले अगाडि सार्नुभएको विचारलाई नेपाली विशेषतामा थप परिस्कृत र समृद्ध बनाउनुपर्नेमा जोड दिएका हुन् । नेपालका अधिकांश कम्युनिस्ट पार्टीले लेनिनवादी संगठनात्मक सिद्धान्त अपनाएको भए पनि कमजोरी स्वीकार गरेर त्यसअनुसार विकास गर्न नसकेको नेताहरूको धारणा थियो ।

जताततै कम्युनिस्ट पार्टी भए पनि उनीहरु एकता हुन नसकेको, वैचारिक, राजनीतिक एवम् संगठनात्मक विषयमा समान धारणा हुन नसकेको तथा व्यक्तिकेन्द्रीत प्रवृत्तिका कारण वामपन्थी आन्दोलन समृद्ध बन्न नसकेको उहाँहरुको भनाइ थियो ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेताको नीजि स्वार्थलाई हटाउने हो भने कम्युनिष्ट पार्टी एकतावद्ध हुन एकाध दिनभन्दा बढी समय नलाग्ने बताउनुभयो । पार्टीअनुसार नै लेनिनलाई हेर्ने दृष्टिकोण रहेको र त्यसमा एकरुपता कायम हुन नसकेको तथा व्यक्तिगत स्वार्थका कारण विचारमा भ्रष्टीकरण हुन पुगेको उहाँको भनाइ छ ।

महासचिव भुसालले भन्नुभयो, “यतिबेला हामीले खास अर्थमा लेनिनवादलाई अङ्गीकार गर्ने हो भने घुस नखाने पार्टी बनाउनुपर्छ । त्यसो मात्रै गरियो भने पनि क्रान्ति आफैँ अगाडि बढ्छ ।”  लेनिनवादको नाम जप्दै कम्युनिस्ट पार्टीका नेताले नै मानव तस्करी गरिरहेकामा उहाँले रोष प्रकट गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का युवा नेता लेखनाथ न्यौपानेले नेपाली विशेषतामा आधारित भएर लेनिनले अगाडि सार्नुभएको विचारलाई थप समृद्ध बनाउनुपर्ने बताउनुभयो । उहाँले क्रान्तिकारी पार्टी निर्माणका लागि विचार नै प्रमुख सर्त भएको धारणा राख्नुभयो ।

नेकपा(क्रान्तिकारी माओवादी)का नेता जगदिशचन्द्र भण्डारीले देशमा कम्युनिस्ट नै कम्युनिस्ट भए पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीको अभाव रहेको बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading