ललितपुर, कात्तिक २० : नेपाली कांग्रेसका नेताहरूले १५ औँ महाधिवेशन गरेर पार्टीभित्र नेतृत्व र साङ्गठनिक रूपान्तरणमार्फत देश र जनतामा नवीन आशा र भरोसा जगाउनुपर्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा असोज २८ देखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार बोल्ने नेताहरूले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछिको परिस्थितिलाई दृष्टिगत गरी यथाशीघ्र १५ औँ महाधिवेशन गर्नुपर्नेमा जोड दिएका हुन् ।
नेताहरूले कांग्रेसले इतिहासदेखि नै देशमा सङ्कटलाई पार लगाएको स्मरण गर्दै संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने दायित्व पनि कांग्रेसकै रहेको प्रस्ट पारे । नेताहरूले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनअघि नै १५ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् । केही केन्द्रीय सदस्यले निर्वाचनपछि मात्रै महाधिवेशन हुने बताएका छन् ।
सहमहामन्त्री फरमुल्लाह मन्सुरले प्रतितिधि सभा निर्वाचन महत्वपूर्ण रहेको बताउँदै त्यसअघि १५ औँ महाधिवेशन गर्नुपर्ने बताउनुभयो । महामन्त्री गगनकुमार थापाको प्रस्तावबारे विचार राख्दै उहाँले बैठकमा भन्नुभयो, “निर्वाचन अत्यन्तै आवश्यक छ । कांग्रेसप्रति जनताले ठुलो आशा र अपेक्षाका साथ हेरेकाले पार्टीको नीति र कार्यक्रमसहित निर्वाचनमा जानु पर्छ । साथै नेतृत्वको पनि चयन गर्नु पर्छ । किनभने कांग्रेसले नयाँ नेतृत्व र नवीनतम् नीति तथा कार्यक्रम लिएर गएपछि जनताको भरोसा आर्जन हुन्छ ।”
सहमहामन्त्री मन्सुरले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर बुझाएको सन्दर्भमा १० दिन छुट्याएर महाधिवेशन सम्पन्न गर्नुपर्ने र बाँकी अवधि निर्वाचनमा जुट्न सकिने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मैले महामन्त्री गगनकुमार थापालाई नै पार्टी सभापति र प्रधानमन्त्रीको उम्मेदवार बनाएर जानुपर्ने प्रस्ताव गरेको छु ।”
केन्द्रीय सदस्य प्रकाशमान सिंहले १५ औँ महाधिवेशन निर्वाचनपछि गर्दा उपयुक्त हुने दाबी गर्दै अहिले एकताबद्ध भएर निर्वाचनको तयारीमा जुट्नुपर्ने बताउनुभयो । बैठकमा केन्द्रीय सदस्य पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, कृष्णकिशोर घिमिरे, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मदनबहादुर अमात्य, चन्द्रबहादुर केसी, अब्दुल सतार, उदयशमशेर राणा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, जावेदा खातुन जागा, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, माया राई, सुशीला ढकाल (आचार्य), गङ्गा शाही र सीतादेवी देवकोटाले बोल्नुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









