11/17/2025, 22:59:24
सोमबार, मङि्सर ०१, २०८२
उपत्यका मेयर्स फोरम

काठमाडौं उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्री कार्कीले गरिन् छलफल

हाँहरूको सोच अनुसार हाम्रो दिमाग चल्न सक्दैन। प्रविधिसँगै हुर्केको पुस्ता हामीसँग असन्तुष्ट छ भनेर बुझ्नुपर्छ।


काठमाडौँ, मङ्सिर १ : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छिन् । प्रधानमन्त्री कार्कीले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग सोमबार साँझ बालुवाटारमा छलफल गरेकी छिन् ।

उपत्यकाका तीनवटै जिल्लामा पर्ने स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्री कार्कीको नेतृत्वमा तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे । त्यसका लागि सहयोग गर्न आफूहरू तयार रहेको उनीहरूको भनाइ थियो। भेटका क्रममा स्थानीय सरकार प्रमुखहरुले आफूहरूले भोगिरहेका समस्याका विषयमा पनि प्रधानमन्त्रीसमक्ष अवगत गराएका थिए । फोहोर व्यवस्थापनको समस्याको गाँठो फुकाइदिन र सडक बत्तीको बक्यौता रकमसम्बन्धी विवाद मिलाइदिन पनि मेयरहरूले प्रधानमन्त्री कार्कीलाई आग्रह गरे ।

ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफू निर्वाचित भएर आउनुअघिको समेत बक्यौता रहेको जानकारी दिँदै उक्त रकम राफसाफ गरिदिन अनुरोध गरे । त्यस्तै सडक बत्तीको महसुल ६० प्रतिशत स्थानीय सरकारले तिर्न सक्ने र ४० प्रतिशत संघीय सरकारले तिर्ने व्यवस्था गर्नुपर्ने उनको माग थियो।  यस्तै जेन-जी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौतीको सम्बोधन गर्दै स्थानीय तहका कार्यालय सञ्चालनमा सहजीकरण गरिदिन पनि उनीहरूले प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।

टोखा नगरपालिकाका प्रमुखले टोखा-छहरे बाटो चौडा पार्न स्थानीयलाई मुआब्जा दिने निर्णय गरिदिन आग्रह गरे । दलीय सरकारले यस्तो निर्णय गर्न नसक्ने भएकाले गैरदलीय सरकारले यो निर्णय गरेर इतिहास रच्नुपर्ने उनको सुझाव थियो।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले भदौ २४ गते जेन-जी आन्दोलनसँग सम्बन्धित नै नभएका व्यक्तिहरुले व्यक्तिका घरघरमा लुटपाट मच्चाएको भन्दै तिनलाई कानुनबमोजिम कारबाही हुनुपर्ने माग गरे । नगरपालिकाले नै जाहेरी दिएर केही व्यक्ति पक्राउ गरेको भए पनि प्रहरी र अदालतबाट छुट्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

कीर्तिपुरका नगरप्रमुखले त्रिभुवन विश्वविद्यालयको जग्गामा बसपार्क, अस्पताल र प्रशासकीय भवन सञ्चालनका लागि संघीय सरकारले अनुमति दिनुपर्ने माग राखे ।  चाँगुनारायण नगरपालिकाका प्रमुखले सल्लाघारी-कमलविनायक-नगरकोट सडक लामो समयदेखि निर्माणाधीन रहेकाले चाँडो बनाइदिनुपर्ने बताए ।  धेरै जनप्रतिनिधिले मितव्ययिता कायम गर्न संघीय सरकारले ३ करोडभन्दा कम बजेटका योजना कटौती गरेको निर्णयका कारण विकास निर्माणका काम गर्न समस्या परेको गुनासो गरे ।

प्रधानमन्त्री सुशीला कार्कीले आफू अहिले निर्वाचनमा केन्द्रित रहेको जानकारी दिँदै त्यसमा सहयोग गर्न आग्रह गरिन् । निर्वाचन गराउन आएको सरकारले अरु काम गर्नुहुँदैन भनेर पनि प्रश्न उठेकोतर्फ संकेत गर्दै उनले भनिन्, ‘एकातिर निर्वाचन मात्र गराऊ, अरु काम नगर भन्ने कुरा पनि उठेको छ। अब त चुनावको आचारसंहिता पनि लाग्ला। तैपनि तपाईँहरुले अघि सार्नुभएका समस्यामा केकति गर्न सकिन्छ, हेरौँला। जेजति समस्या छन्, तिनको समाधान तपाईँ–हामी मिलेर नै गर्नुपर्छ।

३०-३५ वर्षदेखि एकैथरीले एकलौटी शासन गरेको कुराले पनि युवामा वितृष्णा देखिएको पनि प्रधानमन्त्री कार्कीको भनाइ थियो । उनले अगाडि भनिन्, ‘उहाँहरूको सोच अनुसार हाम्रो दिमाग चल्न सक्दैन। प्रविधिसँगै हुर्केको पुस्ता हामीसँग असन्तुष्ट छ भनेर बुझ्नुपर्छ।